सिनेसुत्र, बिराटनगर- आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमा ‘आमा बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा. लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।
चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा निर्माण हुन लागेको सिनेमा विदेशमा समेत उच्च माग बढ्न थालेको हो । मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने यस सिनेमा अस्ट्रेलिया र न्युजिल्याण्डमा वितरण अधिकार ‘सोल्ड आउट’ भएको जानकारी निर्माण पक्षले दिएको छ।
यस बाहेक अन्य देशमा कुराकानी भइरहेको र त्यसबारे छिट्टै जानकारी दिने निर्देशक पन्तले बताए। उनका अनुसार सिनेमा निर्माण भइसकेपछि विदेशमा यसको माग उच्च बढ्ने देखिन्छ। पछिल्लो समय नेपाली सिनेमा क्रेज नेपालमा मात्र नभएर, विदेशमा पनि उच्च छ।
यो क्रेज फर्काउनमा अभिनेता पल शाह र ‘टिकटक क्विन’का रूपमा परिचित उषा उप्रेतीको अनुबन्धले पनि योगदान पुर्याएको छ। यस सिनेमा पल शाह, उषा उप्रेतीसहित सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतको अभिनय रहने छ। उनीहरुको सहभागिता फाइनल भइसकेको छ।
यही महिनाबाट छायांकनमा निस्किने यस सिनेमा अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको र छिट्टै टुङ्गो लगाइने निर्माण पक्षले जनाएको छ। सिनेमा प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ। यस सिनेमा आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
