सिनेमा ‘३६ को आँकडा’मार्फत निरुता सिंहको धमाकेदार कमब्याक

0 Shares

सिनेसुत्र, बिराटनगर- सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको सिनेमा ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन्। मुम्बईबाट आइतबार राति नेपाल आएकी उनले पत्रकारहरूसँग कुरा गर्दै आफू अत्यन्त उत्साहित रहेको बताइन्।

निरुताले भनिन्– “अब म कहीँ पनि जादिनँ, निरन्तर नेपाली सिनेमा मै काम गर्छु। बीचमा मलाई कोरोना भयो, त्यसकारण काम गर्न पाइनँ। अब भने म कहीँ पनि जाने छैन।” उनले आफू नेपाली सिनेमा भन्दा टाढा बस्न नसक्ने पनि स्पष्ट पारिन्। बीचमा केही सिनेमाबाट अफर आए पनि विभिन्न कारणले काम गर्न नपाएको बताइन्।यस सिनेमामा निरुताको भूमिका खुलाइएको छैन। निर्देशक सविर श्रेष्ठले पनि अहिले भूमिका सार्वजनिक गर्न नसक्ने बताए। तर उनले भने– “मैले सहायक निर्देशकको रूपमा निरुता दिदीसँग केही सिनेमामा काम गरेको थिएँ। तर निर्देशक भएपछि एकसाथ काम गर्ने अवसर पाएको थिइनँ। यो सिनेमामा भने उहाँकै आवश्यकता हुने भूमिका छ।”

‘३६ को आँकडा’मा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारको पनि अभिनय रहनेछ। नायिका रेखा थापा र निरुता सिंहले सिनेमा ‘दुई पल’ पछि पहिलोपटक फेरि एउटै पर्दा शेयर गर्न लागेका हुन्।

निरुताले अन्तिम पटक सिनेमा ‘दाल भात तरकारी’मा अभिनय गरेकी थिइन्। अब भने उनी आजदेखि छायांकन सुरु हुन लागेको सिनेमा ‘३६ को आँकडा’मार्फत पुनः सक्रिय बन्दैछिन्।

सम्बन्धित समाचारसबै