सिनेसुत्र, बिराटनगर- यो वर्षको प्रतिक्षित सिनेमा ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ। प्रकाश सपुत र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसि’ सार्वजनिक भएको हो। गीतमा प्रकाश सपुतकै शब्द–संगीत र श्याम स्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ रहेको छ। गायक तथा सर्जक सपुतले गीतमार्फत आफ्नो मौलिकपन दर्शाएका छन्।
मौसम हिमालीको कोरियोग्राफी रहेको यस गीतमा सिनेमा ‘हरिबहादुरको जुत्ता’का मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर भएका छन्। रोमान्टिक शैलीमा बनेको भिडियोमा प्रकाश र स्वस्तिमाको प्रेम कथा देखाइएको छ।
भिडियो पवन सुस्लिङले खिचेका हुन्। यसअघि सार्वजनिक सिनेमाका पोस्टरहरूले दर्शकको ध्यान खिचेका थिए भने अब यो गीतले पनि मन जित्ने देखिन्छ।
दिपेन्द्र के. खनालको निर्देशनमा बनेको यस सिनेमामा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारहरूको अभिनय रहेको छ।
सिनेमा दशैंको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको सिनेमालाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाले खिचेको सिनेमालाई नकुल खड्काले सम्पादन गरेका छन्।
वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको यस सिनेमामा आशिस अविरल, समिक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न पाइनेछ। भिडियो हेर्नुहोस :