सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने सिनेमा को ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो । ट्रेलरले सिनेमा को कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा सिनेमा मा रहेको ट्रेलरले प्रष्ट पारेको छ ।
घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गरेको छ भनेर ट्रेलरमा समेटेको छ । पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ, सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञान पनि ट्रेलरमा देखाइएको छ ।
भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाललगायत कलाकारलाई देखाइएको छ । सिनेमा ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो सिनेमा को हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुनेछ ।
सिनेमा ले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ । सिनेमा ‘अभिमन्यु’ मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको सिनेमा को क्रिएटिभ निर्देशक मदन थापा हुन् । ‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमा का कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस सिनेमा मा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ । ट्रेलर हेर्नुहोस :