सिनेसुत्र, बिराटनगर- सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । सन्तोषजनक शो पाएको सिनेमा फ्राइडे रिलिजअन्तर्गत आजबाट प्रदर्शनमा आएको हो । ‘गुन्यु चोलो’को ट्रेलर र गीतमा नाजिर हुसेनको पफर्मेन्सको तारिफ भइरहेकाले सिनेमालाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क छ ।
‘गुन्यु चोलो’लाई समुन्द्र भट्टले निर्देशन गरेकी छन् । यो सिनेमा लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । ‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।
नाजिरसँगै सिनेमा मा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।
सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । सिनेमा को एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।
सिनेमा मा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड सिनेमा ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।
यो सिनेमा नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । सिनेमा मा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । सिनेमा का कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सिनेमा का सहयोगी निर्माता हुन् ।
आलोक शुक्लाले खिचेको सिनेमा मा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो सिनेमा अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।