पल शाह संगै भारतीय अभिनेता प्रदीप रावत अभिनीत सिनेमा ‘आ बाट आमा’ को भव्य शुभमुहूर्त सम्पन्न

0 Shares

सिनेसुत्र, बिराटनगर- आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमा ‘आ बाट आमा’ को बिहीबार तनहुँको गलेश्वर मन्दिरमा विधिवत् शुभ मुहूर्त गरिएको छ। करिब २ सय जना बटुकहरूले हवनसहित पूजाआर्चना गरी सिनेमा को मुहूर्त गरेका थिए।

निर्माण पक्षका अनुसार सिनेमा को छायांकन सोही दिनदेखि चितवनबाट सुरु गरिएको छ। निर्देशक चन्द्र पन्तले सिनेमा को छायांकन तालिका करिब एक महिनाको रहने जानकारी दिएका छन्। उनका अनुसार चितवन, काठमाडौं र भारतको हैदरावादमा खिचिनेछ।सिनेमामा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त, उषा उप्रेतीलगायत मुख्य भूमिकामा देखिनेछन्। मुहूर्त कार्यक्रममा प्रदीप रावतसहित गजित बिष्ट, माओत्से गुरुङ लगायतको उपस्थिति थियो।

‘आ बाट आमा’ ले आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथा बोकेको निर्माण पक्षको भनाइ छ। सिनेमाका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह रहेका छन्। छायांकन निर्देशन (DOP) नवराज उप्रेतीले सम्हाल्नेछन्। संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहनेछन्। मुख्य सहायक निर्देशक कुलदीप शर्मा रहनेछन्।

यो सिनेमा २०८२ फागुन १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। निर्माण पक्षका अनुसार सिनेमा को विदेश प्रदर्शन अधिकार अष्ट्रेलिया र न्यूजिल्यान्डमा बिक्री भइसकेको छ। ती देशका लागि वितरण अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरेको छ भने नेपालमा आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

सम्बन्धित समाचारसबै