सिनेसुत्र, बिराटनगर- नेपाली कथान सिनेमा “कुमुदे हिड्यो हिरो बन्न” निर्माण हुने भएको छ । शाहीत्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशन रहने यस सिनेमामा एउटा पात्र जो जिन्दगीमा हरेक कुरामा हिरो बन्न चाहन्छ, उसैको कथामा सिनेमा रहने निर्माण पक्षले जानकारी दिएको छ ।
कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस सिनेमाका निर्माता हुन् बिष्णु पन्त शर्मा आचार्य तथा सह–निर्माता चक्र बहादुर बराल रहेका छन् । सिनेमामा कार्यकारी निर्माता भने रंग पत्रकार एवम् रेडियो प्रस्तोता भोला सुबेदी (आरजे प्रणव) रहेका छन् ।
नेपालको दाङ, पोखरा र काठमाण्डौको स्थानमा छायांकन गरिने यस सिनेमाका केही दृश्य भने बेलायतमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । बायोपिक र सत्यकथामा आधारित रहेर सिनेमा निर्माण गर्न लागेको बताए निर्देशक जानकी पन्त जुनले ।
आगामी सोमबारबाट दाङको घोराहीबाट सिनेमाको मुहुर्त गरेर छायांकन सुरु गर्दै करिब २० दिनको छायांकन पश्चात बाँकी छायांकनका लागि तिहार लगत्तै बेलायत जाने बताए सिनेमाका निर्माता बिष्णु पन्त शर्मा आचार्यले ।
सिनेमामा कुमुदेको पात्र भने अभिनेता कुमुद पन्तले निर्वाह गर्ने बताएको निर्माण टिमले सिनेमाको अर्का प्रमुख कलाकार नायिकाको भने नाम अहिलेलाई गोप्य राखेको छ । सिनेमामा दुई नायिका हुने बताए निर्देशक पन्तले । महिला द्वन्द निर्देशक किरण दाहालको द्वन्द, बिपिन आचार्य र ओम सुनारको संगीत र सन्देश शाहको सम्पादन रहने यस सिनेमाको प्रदर्शन मिति भने २०८३ साल तोकिएको छ ।
