सिनेसुत्र, बिराटनगर- आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मैझारो’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन् ।
धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोलसहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन् । पोस्टरले सिनेमा त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ ।
दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन् । धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्, जसबाट उनीहरूबीचको प्रेम सम्बन्ध प्रस्ट हुने देखिन्छ । विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको सिनेमामा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ । सिनेमामा धिरज, मिरुना र दियासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय रहेको छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको सिनेमामा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ । मित्र डी गुरुङको सम्पादन, राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी र अनमोल गुरुङको स्वरमा गीत समावेश छन् ।
सिनेमाको छायांकन सौरभ लामाले गरेका हुन् । वितरण अधिकार आरआर फिल्मले लिएको छ भने डिजिटल स्ट्रिमिङ अधिकार ओएसआरले खरिद गरेको छ । यस सिनेमामार्फत कलाकार विल्सन विक्रम राई पहिलो पटक लेखन तथा निर्देशनमा उत्रिदैछन् । उनले यसअघि पनि ‘तक्मे प्रोडक्सन’ बाट सिनेमा निर्माण गरेका थिए ।
