सिनेसुत्र, बिराटनगर- देशभरि जेनजी आन्दोलनका क्रममा भएको घटनाले मुलुकमा उत्पन्न विषम परिस्थितिलाई कारण देखाउँदै बहुप्रतिक्षित नेपाली सिनेमा ‘अभिमन्यु’: च्याप्टर -१ को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ। निर्माता कम्पनी सेभेन सिज सिनेमाले प्रेस विज्ञप्ति जारी गर्दै भदौ २७ गते तय भएको प्रदर्शन रद्द गरिएको जनाएको छ।
कम्पनीका अध्यक्ष विनोद पौडेलले यस दुखद घडीमा चलचित्र सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने ठानेर यस्तो निर्णय गरिएको बताए। उनले भने, “यस दुःखद घडीमा चलचित्र सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने ठानेर हाम्रो आगामी चलचित्र पूर्वनिर्धारित मितिमा ल्याउन नसक्ने निर्णय गरेका छौं।”
प्रदर्शन मिति स्थगित भए पनि नयाँ मिति चाँडै तय गरेर सार्वजनिक गर्ने तयारी गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै, कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ।