हल खुलेसँगै ‘कोशेढुङ्गा’ पुनः दर्शकमाझ: उच्च अकुपेन्सीसहित प्रदर्शन सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढुङ्गा’ को प्रदर्शन पनि स्थगित भएको थियो । सोमबारदेखि सिनेमा हलहरू सञ्चालनमा आएसँगै कोशेढुङ्गाको प्रदर्शनले निरन्तरता पाएको हो ।

सर्वकालिक सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘कोशेढुङ्गा’ को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको छ । प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुङ्गा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो ।राम्रो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला हल बन्द भएपछि प्रदर्शन रोकिएको सिनेमाले अब पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माण पक्ष विश्वस्त छ । निर्देशक पौडेलले सुरुमा जस्तै दर्शकबाट ‘कोशेढुङ्गा’ ले अब पनि सकारात्मक प्रतिक्रिया पाउनेमा आफू आशावादी रहेको बताए । ‘हाम्रो सिनेमा हेर्ने दर्शकले राम्रो भन्नुभएको छ,’ उनले भने, ‘अब पनि दर्शकको उत्तिकै साथ र सहयोग पाउनेमा हामी आशावादी छौँ ।’

भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘कोशेढुङ्गा’ ले देशभरबाट बलियो ‘वर्ड अफ माउथ’ पाइरहेका बेला निर्माता, निर्देशक र कलाकार मोफसलका दर्शक भेट्न विभिन्न स्थान पुगेका थिए । देशका विभिन्न सहरका दर्शकले सिनेमा राम्रो भएको प्रतिक्रिया दिइरहेको अवस्थामा आफूहरू ठुलो संख्यामा दर्शकले सिनेमा हेर्नेमा आशावादी रहेको निर्माता किशोर अनुरागले बताए ।नरदेवी फिल्मस्को प्रस्तुति रहेको सिनेमाका लेखक पनि सरोज पौडेल नै हुन् । सिनेमामा अभिनेत्री सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतमको अभिनय छ । सिर्जना अधिकारी, शेखर चापागाईं, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतले पनि सिनेमामा अभिनय गरेका छन् ।

सिनेमाको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको सिनेमालाई नहकुल खड्काले सम्पादन गरेका हुन् । सिनेमाका गीतमा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलले संगीत दिएका छन् ।

सम्बन्धित समाचारसबै