सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको सिनेमा अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । असोज १३ गतेकै दिन चारवटा नेपाली सिनेमा एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ ।
यस दिन सिनेमालाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, “हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको सिनेमा ‘अभिमन्यु – Chapter 1’ देशमा भएको Gen-Z आन्दोलनका कारण स्थगन गर्नु परेको थियो । तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य धेरै सिनेमा प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली सिनेमा लाई समेत असर पार्ने अवस्था देखियो ।
यी सबै पक्षलाई विचार गरी हामीले शुभ साईत असोज २४ गते लाई सिनेमाको अन्तिम प्रदर्शन मिति तय गरेका छौँ । यस दिन सिनेमालाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउछौँ ।
तपाईंहरूको साथ र समर्थनका लागि आभारी रहँदै यस निर्णयका कारण देश तथा विदेशमा रहनुभएका वितरक, प्रदर्शक, दर्शक र सञ्चारमाध्यममा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।”
यस पटक सिनेमाले सोलो रिलिजको मौका पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस सिनेमामा मुकेश खनालको लेखन रहेको छ । ‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतोको डिओपी रहेको यस सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादन रहेको छ । ‘अभिमन्यु : च्याप्टर १’ नेपाली संस्करणसँगै हिन्दीमा पनि असोज २४ गतेदेखि भारत र विश्वभर एकैसाथ प्रदर्शन हुने भएकाले यसलाई नेपाली सिनेमाका लागि ठूलो अवसरका रूपमा लिइएको छ । 