सिनेसुत्र, बिराटनगर- ‘डल्लेले इन्ट्री मार्यो’ सिनेमाको प्रमुख भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का फाइनल भएकी छिन् । राजु गिरीको निर्देशनमा बन्ने यस सिनेमाको टिमले रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो ।
मिस नेपाल २०२५ मा अडिसन दिएको एउटा भिडियो क्लिप सार्वजनिक भएपछि चर्चामा आएकी रोशनीलाई ‘डल्लेले इन्ट्री मार्यो’ मा चर्चित हाँस्य अभिनेता सागर लम्साल (बले) को जोडीका रूपमा देख्न पाइनेछ। लक्ष्मण सुवेदीको लेखन रहेको यस सिनेमामा सागर र रोशनीसँगै रमेश बुढाथोकी, रबिन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेललगायतका कलाकारले अभिनय गर्ने तय भइसकेको छ ।
श्याम तामाङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन अनि अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहने यो सिनेमा चितवन र काठमाडौंमा खिचिने जानकारी निर्देशक गिरीले दिएका छन् । सामाजिक कथानकमा आधारित हास्यप्रधान यो सिनेमा उषा फिल्म्सको ब्यानरमा बन्नेछ । सुटिङ दशैँलगत्तै सुरु गरिने तयारी छ ।

