“रक्षाबन्धनको उपहार: सिनेमा ‘ह्रस्व दीर्घ’ को नया प्रदर्शन मिति सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। जनै पूर्णिमा रक्षाबन्धनको पावन अवसरमा, उक्त सिनेमाको निर्माण टिमले दर्शकहरूलाई नयाँ प्रदर्शन मितिको जानकारी दिएका छन् । अब यो सिनेमा कार्तिक ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ। यसअघि, सिनेमाको असोज ११ गते प्रदर्शन गर्ने योजना रहेको थियो।

तर, प्रदर्शन मिति एक साता अगाडि सारेर असोज ३ गतेलाई तय गरिएको छ । मुम्बईमा भइरहेको पोस्ट-प्रोडक्सनका प्राविधिकहरूले सिनेमालाई अझ उत्कृष्ट बनाउनका लागि समय आवश्यक रहेको भन्दै प्रदर्शन मिति पछि सारिएको थियो। निर्माण पक्षले दर्शकहरूको मन जित्ने विश्वास राखेको छ। अब कार्तिक ३० गते सिनेमा रिलिज भएपछि यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा प्रतिक्षाको विषय बनेको छ।

यो सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका छन् । ‘ह्रस्व दीर्घ’मा नीता ढुङ्गाना, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय रहेको छ। सामाजिक कथासहितको प्रेमकथामा आधारित यो सिनेमाको छायाङ्कन भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन, र काठमाडौंमा गरिएको हो।

अभिनेता हरिहर अधिकारीको कथा रहेको  उक्त सिनेमामा बलिउडका स्थापित छायांकार कविरलालको छायाङ्कन छ। मित्र डी गुरुङको सम्पादन, र रामजी लामिछानेको कोरियोग्राफी रहेको यो सिनेमा नीता फिल्मस्को ब्यानरमा निर्माण भएको हो। निता ढुंगानाले निर्माण गरेको यो सिनेमाको केही समयअघि सार्वजनिक भएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ गीतले छोटो समयमा नै लोकप्रियता कमाएको छ। यसले सिनेमाको प्रचारमा थप उचाइ दिएको छ, र युट्युबमा यो गीत १९ लाखभन्दा बढी पटक हेरिएको छ।

 

सम्बन्धित समाचारसबै