सिनेसुत्र, बिराटनगर- कोशी प्रदेशको राजधानी विराटनगरको मुटुमा रहेको सेन्ट्रल मलभित्र अवस्थित ‘सेन्ट्रल मल्टिप्लेक्स’ले आफ्नो ‘सातौँ वार्षिक उत्सव’ भव्य रूपमा मनाएको छ। सिनेमा प्रेमीहरूका लागि आकर्षणको केन्द्र बनेको यो मल्टिप्लेक्स सन् १८ डिसेम्बर २०१८ मा स्थापना भएको थियो। स्थापना कालदेखि नै आधुनिक प्रविधि, दर्शक मैत्री सेवा र उच्च स्तरीय प्रदर्शनका कारण सेन्ट्रल मल्टिप्लेक्सले छोटो समयमै विराटनगरको सिनेमा संस्कृतिमा आफ्नै पहिचान बनाएको छ।
यसै अवसरमा सेन्ट्रल मल्टिप्लेक्सले सिनेमा प्रेमीहरूका लागि विशेष उपहारस्वरूप ९९ रुपैयाँमै सिनेमा टिकट उपलब्ध गराएको थियो।
वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा मल्टिप्लेक्सका डाइरेक्टरहरू प्रकाश मुन्दारा र विनय चौधरी अग्रवालको विशेष उपस्थिति रहेको थियो। डाइरेक्टरद्वयले कर्मचारीहरूसँगै केक काट्दै सातौँ वार्षिकोत्सव मनाए। संस्थाको सफल यात्रामा कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको भन्दै व्यवस्थापन पक्षले उनीहरूको मेहनत र समर्पणको खुलेर प्रशंसा गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै डाइरेक्टर प्रकाश मुन्दाराले सेन्ट्रल मल्टिप्लेक्स केवल सिनेमा हेर्ने स्थल मात्र नभई विराटनगरका सिनेमा प्रेमीहरूको साझा गन्तव्य बनेको उल्लेख गरे। स्थापनादेखि अहिलेसम्म दर्शकको विश्वास र मायाले नै हामीलाई यहाँसम्म ल्याएको हो , उनले भने , आगामी दिनमा अझ आधुनिक प्रविधि, उत्कृष्ट साउन्ड ,भिजुअल अनुभव र सुविधासम्पन्न सेवा थप्दै जाने हाम्रो प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, डाइरेक्टर विनय चौधरी अग्रवालले मल्टिप्लेक्सले स्थानीय सिनेमा संस्कृतिको प्रवर्द्धनमा पनि भूमिका खेल्दै आएको बताए। नेपाली सिनेमा, अन्तर्राष्ट्रिय सिनेमा र विशेष शोहरूको सन्तुलित प्रदर्शनले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्न सफल भएको उनको भनाइ थियो। उनले भविष्यमा विशेष प्रिमियर शो, फेस्टिभल, कार्यक्रम र दर्शक लक्षित अफरहरू ल्याउने योजना रहेको पनि जानकारी दिए।
सेन्ट्रल मल्टिप्लेक्स आधुनिक सिटिङ व्यवस्था, उत्कृष्ट साउन्ड सिस्टम, उच्च गुणस्तरको प्रोजेक्सन, स्वच्छता, सुरक्षा र सहज पहुँचका कारण विराटनगरका सिनेमा प्रेमीहरूको रोजाइमा पर्दै आएको छ। परिवार, साथीभाइ तथा जोडीहरूका लागि सहज र सुरक्षित वातावरण उपलब्ध गराउँदै आएको मल्टिप्लेक्सले दर्शकको अनुभवलाई प्राथमिकतामा राख्दै निरन्तर सुधार गर्दै आएको छ।
सात वर्षको यात्रामा दर्शकको विश्वास जित्न सफल सेन्ट्रल मल्टिप्लेक्सले आगामी दिनमा पनि समयअनुकूल सेवा विस्तार गर्दै विराटनगरको सिनेमा बजारलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। वार्षिक उत्सवले विगतको उपलब्धिलाई स्मरण गराउँदै भविष्यप्रति नयाँ ऊर्जा र उत्साह थपेको छ।
