सिनेसुत्र, बिराटनगर- सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको सिनेमा ‘बब डाई’को ४२ औँ दिनमा छायांकन सकिएको छ। काठमाडौंको चन्द्रागिरी र कीर्तिपुर नगरपालिका भित्रका स्थानहरूमै सम्पूर्ण छायांकन सकिएको सिनेमा निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए। प्रविणका अनुसार निर्माण टिम अब पोस्ट प्रोडक्सनमा लागेको छ। दुई गीत बाहेक स्क्रिप्टका दृश्यका सम्पूर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताएका छन्। गीतको छायांकन केही सातापछि गरिनेछ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो सिनेमा कीर्तिपुरको एक युवाको कथामा आधारित छ। अभिनेता सौगातले ‘बब डाई’को भूमिका निभाएका छन्। निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाइलाई ‘डाई’ भनिने भएकाले सिनेमाे नाम ‘बब डाई’ राखिएको हो। सिनेमा कमेडी जनरामा निर्माण गरिएको छ। तर सिनेमामा कमेडीसँगै धेरै कुरा पाउन सकिने निर्देशक श्रेष्ठ बताउँछन्।
सिनेमामा सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय रहेको छ।
सिनेमाको कथा मैनिषा गौचन र प्रबिन श्रेष्ठको रहेको छ। सिनेमाका एसोसिएट निर्देशक दिनेश बहादुर राउत हुन् भने मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् सिनेमालाई श्याम तामाङको टिमले खिच्दै छ भने निर्देशन प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन्। सिनेमाका प्रोडक्सन हेड तथा कास्टिङ डिरेक्टर नृपेश रुपाखेती हुन्।
पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ। स्वस्तिका श्रेष्ठको श्रृंगार रहेको सिनेमामा कोरियोग्राफी किरण थापा र सृष्टि महर्जनको छ। एक्सन शंकर महर्जनको रहेको छ भने आर्ट डिरेक्टर घनश्याम श्रेष्ठ हुन्।
सिनेमामा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन्। सिनेमाको प्रदर्शन मिति हालसम्म तोकिएको छैन।