



सिनेसुत्र, बिराटनगर- सिनेमा ‘बेहुली फ्रम मेघौली’को टिजर हालै सार्वजनिक गरिएको छ । यो सिनेमा आगामी असोज १७ गते घटस्थापनाको अवसरमा प्रदर्शनमा आउने तयारीमा छ।
यो टिजर पहिलो पटक हिन्दी सिनेमा ‘स्त्री २’ संगै हलमा रिलिज गरिएको थियो र हाल युट्युबमा उपलब्ध गराइएको छ।
टिजरमा मुख्य पात्रको रुपमा ३० वर्ष पुगेकी एक युवतीको मागी विवाहका प्रयासहरूलाई हास्यपूर्ण तरिकाले प्रस्तुत गरिएको छ। यसमा उनले भेट्ने हरेक केटामा कुनै न कुनै समस्या देखा पर्दछ, जसले गर्दा उनको विवाह सफल हुन सक्दैन। उक्त सार्वजनिक टिजरमा सिनेमामा भएका अधिकाग्श कलाकारहरु लाइ देखाइएको छ ।
‘बेहुली फ्रम मेघौली’ ब्ल्याक हर्ष पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको छ। यसमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, भोला सापकोटा, लोकेन्द्र लेखक, रक्षा थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।


सिनेमाको लेखन तथा निर्देशन साजन काफ्ले र आकाश बरालले गरेका हुन्, यो उनीहरूको पहिलो निर्देशन रहेको छ। स्वस्तिमा खड्काको निर्माणमा उनका पति निश्चल बस्नेतले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। कार्यकारी निर्माता फिरोज खड्का र शङ्कर पाण्डे रहेका छन् भने सिनेमाको छायाङ्कन नरेन्द्र मैनालीले र सम्पादन निमेष श्रेष्ठले गरेका छन्।
यो टिजरले दर्शकहरूमा उत्सुकता बढाएको छ, र सिनेमा रिलिजपछि दर्शकहरूको कस्तो प्रतिक्रिया आउनेछ भन्ने कुरा हेर्न बाँकी छ।