सिनेसुत्र, बिराटनगर- आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’ बोलको गीत नेवारी भर्सनमा रिलिज भएको छ। निर्माण टिमले बिहीबार नेवारी भर्सनको गीत ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो। नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर रहेको छ। युट्युबमा अपलोड हुनेबित्तिकै गीतले सकारात्मक प्रतिक्रिया पाएको छ।
केही दिनअघि रवि ओडको स्वरमा सार्वजनिक भएको ओरिजिनल गीत ‘लैजा खबर ए हावा’लाई दर्शकले अत्यधिक रुचाएका थिए। यही गीत नेवारी भाषामा गाएका यमन श्रेष्ठले नेवारी भर्सनमा गाउन पाउँदा आफू निकै खुशी भएको बताएका छन्। बाबुल गिरीको शब्द तथा संगीत रहेको यो गीतलाई नेवारी भाषामा कलाकार मदन कृष्ण श्रेष्ठले अनुवाद गरेका हुन्।
सिनेमाका निर्देशक चन्द्र पन्तले सिनेमामा नेपालीसँगै नेवारी भाषामा पनि गीत रेकर्ड गरिएको जानकारी दिँदै स्रोता–दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए। उनले नेपाली र नेवारी भाषाबाहेक अन्य भाषामा पनि यो गीत रेकर्ड गर्ने विचार रहेको समेत बताएका छन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा विपना थापा र पल शाहका साथै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। यतिबेला सिनेमा प्रचारप्रसारमा अभिनेता पल शाह, विपना थापा सहित सम्पूर्ण निर्माण टिम सक्रिय रहेको छ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको यस सिनेमामा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको छ। साथै सिनेमाका गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीको डीओपी रहेको सिनेमामा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।
सिनेमामा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका हुन्।
सिनेमाको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ। : नेपाल भाषा भिडियो हेर्नुहोस :

