रघुजी फिल्म्सका दुई नयाँ सिनेमा ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- “समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन” भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ। लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना अन्ततः यथार्थमा परिणत हुँदैछ। रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली सिनेमा ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा सार्वजनिक भएका छन्।

लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सशक्त टिमअपबाट निर्माण हुन लागेका यी सिनेमाहरूले नेपाली सिनेमामा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने अपेक्षा गरिएको छ। दुवै सिनेमा आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ।माघ १ गते टिजर सार्वजनिक गर्दै औपचारिक रूपमा सिनेमाको सुरुवात गर्ने तयारी भए पनि केही अपरिहार्य कारणवश टिजर रिलिज हुन सकेन। तर, रघुजी फिल्म्सले टिजरको प्रतीक्षामा रहेका दर्शकहरूलाई पोस्टरमार्फत पहिलो झलक दिँदै सिनेमाको आधिकारिक घोषणा गरेको छ, जसले सिनेप्रेमीहरूबीच उत्सुकता झनै बढाएको छ।

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका दुई सिनेमामध्ये ‘कालकट्टी’ छायांकनतर्फ अघि बढ्ने तयारीमा छ। सिनेमाको छायांकन माघ महिनाको अन्त्यतिर सुरु हुने बताइएको छ। कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया हाल तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।सिनेमा ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन्। छायांकनको जिम्मा निसाल पौडेलको काँधमा रहनेछ भने संगीतकार भीम बिष्टले सिनेमाका भावनालाई संगीतमा उतार्नेछन्।

सिनेमालाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ, जसले सिनेमाको बजार विस्तार र पहुँचलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पोस्टर सार्वजनिक भएसँगै सिनेप्रेमीहरूबीच ‘कालकट्टी’ ले कस्तो कथा, कस्तो द्वन्द्व र कस्तो सिनेम्याटिक अनुभव लिएर आउने हो भन्ने चासो बढ्दै गएको छ। निर्माण टिमले छिट्टै टिजर तथा थप विवरण सार्वजनिक गर्ने बताएको छ। ‘कालकट्टी’ को छायांकन सकेर रिलिजको तयारीसँगै ‘काकाको बिहे’ को छायांकन सुरु हुनेछ।

सम्बन्धित समाचारसबै