सिनेसुत्र, बिराटनगर- यही माघ ९ गते अर्थात् शुक्रबारबाट प्रदर्शनमा आउने एक्सन सिनेमा ‘परिवर्तन’ को सेन्सर पास भएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सिनेमालाई पिजी सर्टिफिकेट दिएसँगै यो सिनेमा सेन्सर पास भएको हो। यो सिनेमा हेर्नका लागि १६ वर्षमुनिका दर्शकले अभिभावकको साथ अनिवार्य रूपमा हुनुपर्नेछ।
सिनेमालाई पुराना सिनेमा निर्देशक विजय केरुङले निर्देशन गरेका हुन्। सिनेमा सेन्सर पास भइसकेपछि निर्देशक केरुङले सिनेमामा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल समेटिएकाले पिजी सर्टिफिकेट पाएको बताए। उनका अनुसार केही डर लाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकले सिनेमा हेर्न अभिभावकको साथ आवश्यक पर्ने हो।
यस सिनेमा का पछिल्ला समय गीत तथा ट्रेलर चर्चामा रहेका छन्। सिनेमामा समावेश गीत ‘पाकेको चिउरी’ दर्शकमाझ अत्यन्तै लोकप्रिय बनेको छ भने यसको ट्रेलरलाई छोटो समयमै ११ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।
सिनेमामा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ। दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘परिवर्तन’ लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस सिनेमामा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा एसडी योगीको संगीत रहेको छ। यस सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन दर्शकले हेर्न पाउनेछन्। पछिल्लो समय द्वन्द्व निर्देशनमा उनी निकै चर्चामा छन् र उनको कामको प्रशंसा हुँदै आएको छ।
सिनेमालाई आरआर फिल्म्सले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ। सिनेमा यही माघ ९ गते अर्थात् शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउँदैछ।