सिनेसुत्र, बिराटनगर- यही माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘आ बाट आमा’ सेन्सर पास भएको छ। सोमबार केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएसँगै सिनेमा सेन्सर पास भएको हो।
अब यो सिनेमा सबै उमेरका दर्शकले हेर्न पाउने छन्। सिनेमाका निर्देशक चन्द्र पन्तले सेन्सर पाससँगै सबै उमेरका दर्शकलाई लक्षित गरेर सिनेमा निर्माण गरिएको बताए। उनी भन्छन्, सिनेमाको सेन्सर पास भएको छ, यो खुसीको कुरा हो। अब सबै उमेरका दर्शकले यो सिनेमा हेर्न सक्नु हुनेछ। किनभने सिनेमाको नाम नै ‘आ बाट आमा’ हो।
यस सिनेमाका अभिनेत्री विपना थापा तथा अभिनेता प्रदीप रावत भारतबाट प्रचार–प्रसारका लागि नेपालमै छन्। उनीहरू आफ्नो सिनेमा जतिसक्दो धेरै जनमानससम्म पुर्याउने प्रयासमा जुटिरहेका छन्। नेपालमा रहेका अभिनेता पल शाह, उषा उप्रेती र सिमरन पन्त पनि प्रचारमा उत्तिकै सक्रिय देखिएका छन्। सिनेमामा समावेश गीत ‘लैजा खबर ए हावा’ दर्शकमाझ निकै लोकप्रिय बनेको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस सिनेमामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहेको यस सिनेमामा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। सिनेमाका गीतहरूको भिडियोमा कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ। सिनेमाको छायांकन नवराज उप्रेतीले गरेका हुन्।
यस सिनेमामा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्।सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका छन्। ट्रेलर र टिजर साहिल खानले तयार पारेका हुन्। सिनेमाको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।