“पूर्वमा ‘वर एण्ड वधु’को जबरजस्त प्रचार: टिम उत्साहित, दर्शकको साथको प्रतीक्षा”

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौको १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर सिनेमाको प्रचार गरेको छ।
सिनेमाका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगे। मोफसल टुरका क्रममा उत्साहित देखिएको सिनेमाको टिमले दर्शकको उत्साहजनक साथ पाउने विश्वास व्यक्त गरेको छ।

सिनेमाका निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ जस्तो सिनेमा बनेको बताउँदै, दर्शकले उच्च क्यानभासमा उत्कृष्ट सिनेमा हेर्न पाउने जानकारी दिए।
यो सिनेमाको छायांकन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको उनको भनाइ थियो।

सिनेमाका कलाकार किरण केसीले दर्शकले यस सिनेमालाई साथ दिएमा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गरे। उनले भने, “मैले काम गरेका सयभन्दा बढी सिनेमामा यो सिनेमा १–२ नम्बरमा पर्छ। सिनेमा हरेक कोणबाट उत्कृष्ट छ।”

नायिका आँचल शर्माले ‘वर एण्ड वधु’ले दर्शकको आँखा शितल बनाउने दाबी गरिन्। सिनेमामा लभ, रोमान्स, कमेडी, धोका सबै कुरा भएको भन्दै उनले दर्शकले पूर्ण प्याकेजको सिनेमा हेर्न पाउने बताइन्। यस्तै, नव–नायक विवेक कर्माचार्यले यो सिनेमाबाट आफू सिनेमा क्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गरे।

निर्मात्री जानुका थापाले सिनेमाको कथावस्तु मन परेका कारण नै लगानी गरेको बताइन्।
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यस सिनेमाको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ। मोफसल टुरका क्रममा विभिन्न कलेजमा पुगेको सिनेमाको टिमलाई दर्शकले उत्साहजनक रूपमा स्वागत गरेका थिए। अधिकांशले सिनेमाको प्रचार सामग्री मन परेको भन्दै हलमा गएर सिनेमा हेर्ने बताएका छन्।

सम्बन्धित समाचारसबै