सिनेसुत्र, बिराटनगर- आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’को फस्ट लुक्स सार्वजनिक भएको छ। बिहिबार निर्माण टिमले सिनेमाको पहिलो पोस्टर रिलिज गरेको हो। सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई देख्न सकिन्छ। तीनै पात्र निकै गम्भीर भावभंगिमामा देखिन्छन्। जहाँ सुहानाको सिउँदोमा सिन्दुर अनि निधारमा टीका लगाएकी छन्। तर पनि उनको मन खुशी छैन भन्ने भाव पोस्टरमा झल्किन्छ। यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ। यी तीनै पात्रले सिनेमाको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेका छन्।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो सिनेमामा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गर्ने अनुमान गरिएको छ। पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा ‘परालको आगो’ जस्तै सानो कारणले ठूलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ।
यस सिनेमामा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्। हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको यस सिनेमाका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखेको यस सिनेमामा छायाँकार संकल्प भुजेल, नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन्। त्यसैगरी सिनेमाको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका हुन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन्। ५.१ मिक्सिङ मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजक रहेका छन्। पाश्र्व संगीत किरण तुलाधर, शान्ति ठटाल, सत्य–स्वरुप र प्रकाश सपुतको रहेको छ भने गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ।
सिनेमामा भेषभूषा डिजाइन सुजन परियारले गरेका छन् भने श्रृंगार मदन न्यौपानेले गरेका छन्। केश विन्यासमा रोनिशा अधिकारी रहेकी छन्। सिनेमाको पोस्टर आइडियल डिजाइनर्सले तयार गरेको हो भने कला निर्देशक प्रतिक चौधरी रहेका छन्। मुख्य सहायक निर्देशक करण बहादुर साउद हुन्। निर्माता सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्।
यस सिनेमाको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआरले ओटीटी राइट लिइसकेको छ। साहित्यकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथामै आधारित भएर ४५ वर्षअघि प्रताप सुब्बाले पनि यही नाममा सिनेमा निर्देशन गरेका थिए। 