सिनेसुत्र, बिराटनगर- आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार सिनेमाेको पहिलो पोस्टर सार्वजनिक गर्दै प्रचार अभियानको सुरुवात गरेको हो।
सार्वजनिक पोस्टरमा सिनेमाेका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को दिने पोस्टरमा पहाडी पृष्ठभूमिमा गुडिरहेको जिप अगाडि दयाहाङ र सौगातबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा जुधाइरहेको दृश्य प्रस्तुत गरिएको छ। जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया गम्भीर मुद्रामा बसेकी देखिन्छिन्। पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु संकेत गरेको अनुमान गर्न सकिन्छ।
साथै गाडीको हुटमा कोसेलीका स्वरुपमा सुँगुर, राडीपाखी र तरकारी राखिएको देखिन्छ। उनीहरू कतै बसाइँ सरेका हुन् कि भन्ने संकेत पनि पोस्टरले दिन्छ। छेउमा डोको र गाग्रीसमेत देख्न सकिन्छ। यी सबै तत्वले पात्रहरूको सामाजिक पृष्ठभूमि र संघर्षलाई चित्रण गर्छन्। दयाहाङ र सौगातबीचको लडाइँ र तेरियाको बिरक्त भावले दर्शकमाझ कौतुहलता जगाउने देखिन्छ, जुन सिनेमाेको बलियो पक्ष हुनसक्छ।
उनीहरूबीचको द्वन्द्व तेरियाकै कारण हो कि अन्य कुनै विषयमा आधारित छ भन्ने कुरा टिजर र ट्रेलरमा स्पष्ट होला। तर पोस्टरले मात्रै पनि कथावस्तुप्रति दर्शकको चासो बढाउन सफल देखिन्छ। अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस सिनेमाामा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगरसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहनेछ। यही सिनेमााबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
यस सिनेमााका निर्माता जनक घर्ती मगर हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमााको सम्पादन लोकश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका हुन्। कार्यशाला भोलाराज सापकोटाले गरेका छन्।
प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) हुन् भने मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री हुन्।
द्वन्द्व निर्देशन प्रभात विष्टले गरेका छन् भने साउन्ड डिजाइन नवीन श्रेष्ठको छ। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। सिनेमााका गीतमा संगीतकार मल्लसँगै मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ। कोरियोग्राफी मिङ्मा लेप्चाले गरेका छन्। आरआर फिल्म्स वितरक रहेको यो सिनेमा आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।