वीरेन्द्र साहको नेतृत्वमा चलचित्र पत्रकार संघ कोशीको १४ सदस्यीय नयाँ कार्यसमिति चयन

0 Shares

सिनेसुत्र, बिराटनगर- चलचित्र पत्रकारहरूको साझा मञ्चलाई थप सशक्त बनाउने उद्देश्यसहित सम्पन्न चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै नयाँ कार्ययात्रा सुरु गरेको छ। विराटनगरस्थित रुबिज होटलमा सोमबार सम्पन्न अधिवेशनबाट विरेन्द्रकुमार साहको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षका रूपमा रमेश तिवारी र गोमा ढुङ्गाना चयन भएका छन् भने महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला र कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्। सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, पारस मण्डल, सुनिल यादव, कविता घिमिरे, निशान्त कँडेल र गोपाल पौडेल चयन हुँदा एक सदस्य भने पछि मनोनयन गरिने जनाइएको छ।  बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस –यसअघि उद्घाटन सत्र तत्कालीन अध्यक्ष सञ्जु राईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलामी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, संघका सल्लाहकार भीषण राई तथा पारस मल्टिपल हस्पिटलका प्रशासन प्रमुख हेमनारायण मेहतालगायतले शुभकामना व्यक्त गरेका थिए। अध्यक्षमा निर्वाचित साहले संघलाई अझ सक्रिय, व्यवस्थित र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारहरूबीच एकता मजबुत पार्ने र कोशी प्रदेशको सिनेमा क्षेत्रको विकासमा सशक्त भूमिका खेल्ने बताएका छन्। अधिवेशनकै अवसरमा चलचित्र पत्रकार र उनीहरूको परिवारलाई लक्षित गर्दै विराटनगरस्थित पारस हस्पिटलसँग उपचारमा विशेष छुट प्रदान गर्ने सम्झौता समेत सम्पन्न भएको छ।

 

सम्बन्धित समाचारसबै