



सिनेसुत्र, बिराटनगर – गत आइतवार संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ।
आइतबार काठमाडौंको कमलपोखरीस्थित बिग मूभिजमा आयोजित विशेष कार्यक्रममा गीतलाई सार्वजनिक गरिएको हो।
यस गीतमा एसडी योगीको संगीत निर्देशनमा सुरेन्द्र रानाको शब्द रचना रहेको छ । गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ ।
सिनेमाको उक्त गीतमा मुख्य कलाकार धिरज र उपासना सहित अन्य कलाकारहरू पनि फिचर्ड छन् ।
गीतको भिडियोमा सुरेन राईको कोरियोग्राफी देख्न सकिन्छ,र संगीत निर्माता रिकेश गुरुङ हुन्।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको ‘खुस्मा’को लेखन र निर्देशन अशोक थापा मगरले गरेका हुन्।
डकुमेन्ट्री सिनेमामा नौ अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेका थापाको यो पहिलो ठूलो पर्दाको निर्देशन हो।



सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन्। सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ। यसअघि सार्वजनिक गरिएको सिनेमाको गीत र टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।
‘खुस्मा’मा धिरज, उपासना, माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।
मगर समुदायको परिवेशमा आधारित यो प्रेमकथाले जनयुद्धको समयको प्रेमलाई पर्दामा उतार्ने प्रयास गरेको छ। सिनेमा ‘खुस्मा’को संगीत एसडी योगी र छान्जु पार्क (कोरियन)ले तयार पारेका छन्, र गीत रचना सुरेन्द्र राना, राम अविरल बिष्ट, र निर्देशक थापा मगरले गरेका छन्। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ।