सिनेसुत्र, बिराटनगर- जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘मितज्यू’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै सिनेमाको ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य पात्र दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएका छन्। उनीहरु गाउँमा आएको नयाँ बाटोका गाडी चालक हुन्। एकअर्कामा प्रतिष्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा पुर्याउने भन्नेमा छन्। सोही क्रममा मितेरी साइनो लगाएका दया र सौगातबीचको मित्रता बढो गज्जबको देखिन्छ। किनभने सौगात मित दयाको घरमा जाँदा रित्तो नगई भाले बोकेर पुगेका छन्। जहाँ मितिनी तेरिया मगरले ‘भाले मात्रै किन, पोथी पनि ल्याउनुपर्थ्यो नि’ भन्ने गाउँले शैलीमा बोल्छिन्।
यता उनीहरुले मित लगाएको कुरालाई हात हेर्ने ज्योतिषीले हल्का रुपमा नलिन आग्रह गर्छन्। उनीहरुबीचको संकट र गाउँको बाटोमा गाडी कुदाउने प्रतिष्पर्धा बडो रोचक लाग्छ। एकअर्काबीचको लडाइँ-झगडा र मितको नाममा कलंकसम्मको कथा पर्दामा देख्न सकिन्छ।
कुनै समय नेपालमा मितेरी साइनो लगाउने चलन थियो। सोही कुरालाई समेत गहिरो रुपमा अध्ययन गरी निर्माण गरिएको यस सिनेमाको ट्रेलरले निकै अर्थपूर्ण भाव प्रस्तुत गरेको छ। यस सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। ग्रामीण परिवेशमा आधारित यस सिनेमामा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यसै सिनेमामार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथै, सिनेमाको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ। अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस सिनेमामा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन रहेको छ भने श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। गीतमा स्वर श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लले दिएका छन्। मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्।
आरआर फिल्म्सले वितरण गर्ने यस सिनेमाको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। सिनेमा आगामी जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ। यो सिनेमा हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भइसकेको छ। सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा यी ६ देशमा सिनेमाको प्रदर्शन अधिकार बिक्री भएको हो।