घोकन्ते शिक्षाको असर , छात्रवृत्तिदेखि समाजको विभेदसम्म, ‘रोल नं १’को भावुक ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण टिमले शुक्रबार सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा बालमनोविज्ञान प्रस्ट देखिन्छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर अर्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ । परिवारको इच्छा पूरा गरिदिन प्रयास गरे पनि रुचि नहुँदा असफल भएको कथा प्रस्तुत गर्दै ट्रेलरले बालमनोविज्ञानलाई देखाएको छ ।

गरिब भएकै कारण कसरी विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित हुन्छन् र पहिलो हुनेको मात्रै हुने इज्जतलाई ट्रेलरमा देखाइएको छ । पुरानै सोचमा जकेडिएको समाज र त्यसले गरिबलाई दिने दुःख तथा पारिवारिक र सामाजिक द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ ।घोकन्ते विद्याले समाजमा पारेको प्रभाव र त्यसको पछि लाग्ने अभिभावकका कारण साना विद्यार्थीको बालमनोविज्ञानमा पारिरहेको प्रभावलाई मिहिन ढंगले बाबु र छोरामार्फत सिनेमाले देखाएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकार देख्न सकिन्छ ।

विनोद पौडेलको निर्माण रहेको सिनेमा ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो सिनेमाले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जीवनमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको बताइएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । सिनेमाका बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको सिनेमाको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।

सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोज खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । सिनेमाका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो सिनेमा नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । सिनेमालाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्दैछन् ।

सम्बन्धित समाचारसबै