सिनेमा ‘रोल नं १’ले ल्यायो भिडियो प्रतियोगिता, विजेतालाई आकर्षक नगद पुरस्कार

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘रोल नं १’ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो । निर्माण टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ भिडियो प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अफर ल्याएको हो ।

यो प्रतिस्पर्धाका लागि सिनेमा ‘रोल नं १’सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ । प्रतिस्पर्धामा सहभागी हुन आफ्नो परिचय दिनुपर्नेछ, जसमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । आफ्नो वास्तविक स्कुल जीवनको कथा सुनाउनुपर्नेछ ।कथामा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्व, गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्झना, सपना र लक्ष्य तथा संघर्ष र मेहनतलगायत विषय समेट्न सकिनेछ । भिडियो छोटो, मिठो र भावुक हुनुपर्नेछ । भिडियो १–३ मिनेटभित्र सक्नुपर्नेछ । सिर्जनात्मक प्रस्तुति दिनुपर्नेछ । भिडियोमा स्पष्ट आवाज हुनुपर्नेछ । सबै उमेरका व्यक्ति यो प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । भिडियो टिकटक, फेसबुक र इन्स्टाग्राममा राख्न सकिनेछ । भिडियो पोस्ट गर्दा अनिवार्य रूपमा फेसबुक 7seasCinemas मा अथवा टिकटकमा www.tiktok.com/@7seascinema मा ट्याग गर्नुपर्नेछ ।

भिडियो पोस्ट गर्दा #RollNo1 #NepaliMovie #Jestha15 #MySchoolStory #SchoolMemories #StudentLife #7SeasCinema ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । प्रथम हुने विजेताले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।सान्त्वना पुरस्कारस्वरूप २० जना सहभागीले ‘रोल नं १’को एक-एकवटा टिकट पाउनेछन् । विजेता घोषणा जेठ २५ गते गरिनेछ । विनोद पौडेलको निर्माण रहेको सिनेमा ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जीवनमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको बताइएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । सिनेमाको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको सिनेमाको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् । सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको बीजीएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । सिनेमाका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो सिनेमा नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । सिनेमालाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्दैछ ।

सम्बन्धित समाचारसबै