सिनेसुत्र, बिराटनगर- बहुप्रतिक्षित सिनेमा ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो । सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो । चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ, निर्देशक वसन्त निरौला ले भने, यो सिनेमाको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन सिनेमामा पनि देखिनेछ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस सिनेमालाई निर्देशक वसन्त निरौला ले निर्देशन गरेका छन् । सिनेमामा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् । सिनेमामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् । यस्तै सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी लगायतको पनि अभिनय रहेको छ ।
सिनेमा ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेल ले स्पष्ट पारेका छन् । उनका अनुसार सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठ ले यसअघि गतवर्ष सिनेमा ‘लाज शरणम्’ निर्माण गरेका थिए । सिनेमाको निर्माणमा काली रानी श्रेष्ठ छिन् । सिनेमाको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिएको छ । कथा, पटकथा तथा संवाद सुशील पौडेल को रहेको यो सिनेमालाई श्याम तामाङ ले खिचेका छन् । सिनेमाको नाम, कथा र कास्टका कारण यो प्रतिक्षित बनेको छ ।
