‘रोल नं १’लाई १५०+ शो, क्यूएफएक्सदेखि बिग मुभिजसम्म अग्रिम बुकिङ सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- गत बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको सिनेमा ‘रोल नं १’को अग्रिम बुकिङ खुला भएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन् । पहिलो दिनका लागि क्यूएफएक्सले काठमाडौंमा १६ र काठमाडौं बाहिर दमौलीबाहेक १९ शो दिएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइले आफ्ना ६ वटा चेनमा तीन-तीनवटा दरले १८ शो दिएको छ । यसैगरी, वान सिनेमाजले ५ शो र बिग मुभिजमा ४ शो दिएका छन् ।

सिनेमा ‘रोल नं १’ले देशभर १ सय ५० हाराहारी शो पाएको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले बताएका छन् । यस सिनेमाका वितरक करण श्रेष्ठ र छविराज ओझाले दिएको जानकारी अनुसार उपत्यकाका हल र मोफसलका केही सिनेमा हलहरुले शो निकाल्न बाँकी रहेको छ, सम्भवत ३ बजेभित्रमा सबै जानकारी आउने बताइएको छ ।‘हरेक विद्यार्थी’को कथा स्लोगन रहेको सिनेमा ‘रोल नं १’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । जोन योञ्जनको निर्देशन रहेको सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । सिनेमाका बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । सिनेमाका मुख्य कलाकारले यस सिनेमाको प्रचार देशभर पुगेर गरेका छन् । स्कुल-स्कुल पुगेर आफ्ना कुरा राख्दै विद्यार्थीका मनका कुरा सुन्दै आएको यो टिम मोफसल र काठमाडौं उपत्यकाका विभिन्न स्कुलहरूमा पुगेर प्रचार गरेको थियो । ‘रोल नं १’को प्रचार पूर्वी नेपाल झापाबाट सुरु गरिएको टिमले पश्चिम नेपालगञ्जसम्म पुगेर सम्पन्न गरेको हो ।

फेरि कलाकार दर्शक भेट्न मोफसलका हलमा पुग्ने तयारीमा छन् । सेन्ट्रल फिल्म एक्जामिनेशन कमिटीले सिनेमालाई ग्रेडिङ गर्ने क्रममा खुलेर तारिफ गरेको निर्माण टिमले जनाएको छ । सिनेमाको तारिफपछि उत्साहित बनेको निर्माण टिम प्रदर्शनपछि दर्शकलाई भेट्न हल-हलमा पुग्ने तयारीमा छ ।

सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तै ‘रोल नं १’ले पनि विस्तारै दर्शकको माया पाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको सिनेमाका सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् भने सिनेमाको डीओपी शिवराम श्रेष्ठ हुन्।

सम्बन्धित समाचारसबै