शिक्षामूलक सिनेमाको संज्ञा : ‘रोल नं १’ को स्पेसल स्क्रिनिङमा सेलिब्रेटीहरू भावुक

0 Shares

सिनेसुत्र, बिराटनगर- गत शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शन भइरहेको सिनेमा ‘रोल नं १’ को राजधानीमा विशेष प्रदर्शनी (स्पेसल स्क्रिनिङ) आयोजना गरिएको छ । निर्माण टिमले सोमबार आयोजना गरेको स्पेसल स्क्रिनिङमा नेपाली रजतपटका हस्ती, हास्यकलाकार तथा राजनीतिज्ञहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले सिनेमालाई अपेक्षाभन्दा उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

विशेष प्रदर्शनीमा सहभागीहरूले सिनेमाको विषयवस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गर्दै ‘रोल नं १’ विद्यार्थीभन्दा पनि अभिभावकले हेर्नुपर्ने सिनेमा भएको बताएका छन् । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो सिनेमा हेर्न निर्देशक तुल्सी घिमिरे, कलाकार जितु नेपाल, कमलमणि नेपाल, मरिचमान श्रेष्ठ, अभिनेत्री अञ्जना बराइली, नीता ढुंगाना, सञ्चिता लुइँटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे, लुनिमा तुलाधार, सरिता गिरी, ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी, हास्यकलाकार भरतमणि पौडेल, मेक्सम गौडेल, अभिनेता हरिहर अधिकारी, पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य सुनिल बहादुर थापा, एन–प्याब्सनका महासचिव आरबी कटुवाल लगायतको उपस्थिति रहेको थियो ।सिनेमा हेरेर निस्किएका हास्यकलाकार जितु नेपालले सिनेमाका संवाद र सन्देशको प्रशंसा गरे । उनले भने, “हामीले जहिले पनि बच्चालाई कक्षाकोठाको नम्बरमा मात्र सीमित गर्‍यौं । तर यो सिनेमाले स्पष्ट पारेको छ कि कक्षाकोठाभित्रको नम्बरले मात्र जीवनको नम्बर निर्धारण गर्दैन । शिक्षालाई सीपसँग जोड्नुपर्ने आजको आवश्यकतालाई सिनेमाले निकै सान्दर्भिक रूपमा उठाएको छ ।”

त्यस्तै, अर्का लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले सिनेमालाई एउटा ‘किताब’को संज्ञा दिए । उनले भने, “यो सिनेमाभन्दा पनि एउटा पढ्नुपर्ने किताब जस्तो लाग्यो । विशेषगरी दुर्गम क्षेत्रको शिक्षा र एउटा बुबाले छोराको भविष्यका लागि गर्ने संघर्षले मेरो मन छोयो ।”

यो सिनेमा हेर्न पुगेकी कलाकार लुनिमा तुलाधारले ‘रोल नं १’ हरेक अभिभावकले हेर्नुपर्ने सिनेमा भएको बताइन् । “यो सिनेमा हेरेपछि मलाई ‘रोल नं १’ विद्यार्थीले त हेर्नुपर्छ नै, तर अभिभावकले पनि हेर्नुपर्ने सिनेमा रहेछ भन्ने लाग्यो,” उनले भनिन्, “हरेक अभिभावकले यो सिनेमा हेर्नुपर्ने रहेछ । आफ्नो छोराछोरीको रुचि केमा छ, उसले के गर्न चाहन्छ, के पढायो वा गरायो भने त्यसमा मन लगाउँछ भन्ने थाहा पाउन पनि यो सिनेमा हरेक अभिभावकले हेर्नैपर्छ ।”

अभिनेत्री सञ्चिता लुइँटेलले सिनेमाको लेखन र प्रस्तुतिलाई ‘मर्मस्पर्शी’ भन्दै यसले किताबी ज्ञानभन्दा सीप ठूलो हो भन्ने सन्देश प्रभावकारी ढंगले दिएको बताइन् । उनले भनिन्, “सिनेमाको लेखन र प्रस्तुति निकै राम्रो छ । यसले शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सीमित नगरी सीपसँग जोडेको छ । आजको पुस्ताका बालबालिका र उनीहरूका अभिभावकले एकपटक यो सिनेमा हेरेर धेरै कुरा सिक्न सक्छन् । सिनेमाका संवाद र भावनाहरू निकै मर्मस्पर्शी छन् ।”अभिनेता हरिहर अधिकारीले सिनेमालाई ‘ब्युटिफुल’ भन्दै सिनेमा हेरिरहँदा आफूलाई आफ्नै स्कुल जीवन र परीक्षाको डरको याद आएको बताए । उनले भने, “सिनेमा एकदमै राम्रो र ब्युटिफुल छ । विशेषगरी बाबु र छोराको सम्बन्ध, पढाइ र संघर्षको कथाले मलाई निकै छोयो । सिनेमा हेरिरहँदा मलाई आफ्नै स्कुल जीवनको याद आयो । परीक्षाको बेला हुने डर र बुवाको संघर्षका कथाहरू यसमा निकै जीवन्त ढंगले उतारिएको छ ।”

अभिनेत्री नीता ढुंगानाले सिनेमा हेर्दा आफू निकै भावुक भएको र यसले बालबालिकामाथि थोपरिने पढाइको दबाबलाई वास्तविक रूपमा चित्रण गरेको प्रतिक्रिया दिइन् । “सिनेमाको विषयवस्तु निकै बलियो छ । बालबालिकाको मनोविज्ञान र उनीहरूमाथि थोपरिने पढाइको दबाबलाई सिनेमाले राम्रोसँग देखाएको छ । सिनेमा हेर्दा निकै भावुक भइने रहेछ,” उनले भनिन् ।

विशेष प्रदर्शनीमा सहभागीहरूको एउटै स्वर थियो – किताबी ज्ञानले मात्र जीवन चल्दैन, सीप र रुचि चिन्नु नै वास्तविक शिक्षा हो । उनीहरूले यो सिनेमालाई शैक्षिक चेतना फैलाउने एउटा महत्वपूर्ण माध्यमका रूपमा परिभाषित गरेका छन् । सिनेमाका मुख्य कलाकार मुकुन्द पोखरेल र रेणु नाथ योगीको अभिनयलाई सबैले जीवन्त भनेका छन् । विशेषगरी आमा र छोराको सम्बन्ध तथा बुबाको सपनाका बीचमा पिसिएको एउटा बालकको भूमिकामा रहेका बाल कलाकारको कामको चौतर्फी प्रशंसा भएको छ ।

सिनेमा हेरेर निस्किएका सेलिब्रेटीहरूको एकमत प्रतिक्रिया छ – यदि तपाईं आफ्ना बालबालिकाको मनोविज्ञान बुझ्न चाहनुहुन्छ र हाम्रो शिक्षा प्रणालीको वास्तविकता हेर्न चाहनुहुन्छ भने ‘रोल नं १’ एकपटक हेर्नैपर्छ ।

स्पेसल स्क्रिनिङमा पुगेका कलाकारहरूले किताबी ज्ञानभन्दा पनि सीप ठूलो कुरा हो भन्ने सन्देश ‘रोल नं १’ले दिएको बताए । आफ्ना छोराछोरीलाई ‘पढ-पढ’ भनेर दबाब दिने बाबुआमा तथा शिक्षक–शिक्षिकाले हेर्नै पर्ने सिनेमा रहेको उनीहरूको निष्कर्ष छ । बच्चाको रुचि जुन क्षेत्रमा छ, ऊ त्यही क्षेत्रमा सफल हुन्छ । त्यसैले बेलैमा उसको इच्छा र रुचिको पहिचान गरेर त्यहीअनुसार अगाडि बढाउन सिनेमाले प्रेरित गर्ने भएकाले अभिभावकले यो सिनेमा हेर्नैपर्नेमा उनीहरूको जोड छ ।बच्चालाई दबाब दिएरभन्दा पनि बुझेर र रुचि पहिचान गरेर अगाडि बढाउनुपर्ने सन्देश सिनेमाले दिएको उनीहरूको भनाइ छ । सैद्धान्तिक ज्ञानभन्दा सीपले जीवन चलाउने हो भन्ने सन्देश दिने भएकाले यो सिनेमा हेर्नैपर्नेमा कलाकार तथा दर्शकको जोड छ । जोन योञ्जनको निर्देशन रहेको सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको सिनेमाको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । सिनेमाका डीओपी शिवराम श्रेष्ठ हुन् । सिनेमा अहिले देशभरका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको छ ।

सम्बन्धित समाचारसबै