‘रोल नं १’ले बल्ल समात्यो व्यापारिक लय : सकारात्मक प्रतिक्रियासँगै हाउसफूल हुन थाले शो

0 Shares

सिनेसुत्र, बिराटनगर- प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाएको सिनेमा ‘रोल नं १’ ले अब भने व्यापारिक लय पनि समाउन थालेको छ । केही सिनेमा हलका केही शो प्रदर्शनको अघिल्लो दिन नै हाउसफूल हुन थालेपछि यो सिनेमा ले व्यावसायिक रूपमा पनि लय समात्न थालेको प्रस्ट हुन्छ ।

शो सुरु हुनुभन्दा २४ घण्टाभन्दा अगाडि नै ‘रोल नं १’का कतिपय शो हाउसफूल भइसकेका छन् । कतिपय शो फिलिङ फास्टमा गएका छन् । स्कुलहरूले पूरै शो नै बुक गरेर आफ्ना विद्यार्थीलाई सिनेमा देखाउन लैजान थालेका छन् । जसका कारण बुधबारका कतिपय शो मंगलबार नै हाउसफूल भइसकेका थिए ।

हाम्रो सिनेमामा आएको सकारात्मक वर्ड अफ माउथले काम गर्न थालेको छ । केही स्कुलहरूले आफ्ना विद्यार्थीलाई सिनेमा देखाउन ल्याउन थालेका छन्,” निर्माता विनोद पौडेलले भने, “त्यसैले आजका कतिपय शो हिजो नै हाउसफूल भइसकेका छन् । स्कुलले आफ्ना विद्यार्थीलाई सिनेमा देखाउने क्रम सुरु भएको र यसले निरन्तरता पाउनेमा निर्माता पौडेल ढुक्क छन् ।सिनेमा हेर्नेहरूले विद्यार्थी, शिक्षक र अभिभावकले नै हेर्नै पर्ने सिनेमा भन्दै प्रतिक्रिया दिएपछि ‘रोल नं. १’ हेर्नेको संख्या क्रमशः थपिँदै गएको निर्माण पक्षको भनाइ छ । सबैले सिनेमा राम्रो र हेर्नैपर्ने भन्ने बताएपछि हेर्न आउनेहरूको संख्या थपिँदै छ, निर्माता पौडेलले भने, “हामी यही दिनको प्रतिक्षामा थियौँ ।

निर्माता पौडेलको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ पनि सकारात्मक प्रतिक्रियाका कारण चौथो दिनबाट हाउसफूल हुन थालेको थियो । स्कुल–स्कुल र गाउँ–गाउँबाट गाडी रिजर्भ गरेर यो सिनेमा हेर्न आएपछि यसले ऐतिहासिक ग्रस कलेक्सन गरेको थियो ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो सिनेमा लाई जोन योञ्जनले निर्देशन गरेका हुन् । ‘रोल नं. १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । सिनेमाको बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको सिनेमाको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ हुन् । सिनेमा अहिले देशभरका विभिन्न हलहरूमा प्रदर्शनरत छ ।

सम्बन्धित समाचारसबै