निर्माण टिमले लुकाएका चार कलाकार रिभिल : हरि लम्सालको पहिलो निर्देशन ‘बाः एक योद्धा’ भदौ १९ मा आउँदै

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘बाः एक योद्धा’ले नयाँ कलाकार रिभिल गरेको छ । पब्लिसिटी रणनीतिअन्तर्गत छायांकन सकेर पोस्ट–प्रोडक्सनको चरणमा रहेको सिनेमाले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो । सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माण टिमले आज सार्वजनिक गरेको छ । छायांकन सकिएर पोस्ट–प्रोडक्सनको काम सुरु भइसक्दा पनि यी कलाकारलाई निर्माण टिमले गोप्य राखेको थियो ।

‘बाः एक योद्धा’मा यी कलाकारबाहेक मुख्य भूमिकामा अभिनेत्री झरना थापा, सुहाना थापा तथा अभिनेता दिव्यदेव पन्त छन् । यी कलाकारको नाम भने यसअघि नै सार्वजनिक भइसकेको थियो । कलाकारको यो लाइनअपले सिनेमा बलियो बनेको अनुमान गर्न सकिन्छ ।सागर खनाल सिनेमा ‘११ः५५’ तथा शिशिर सिवाकोटी ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’बाट तारिफ बटुलेका अभिनेता हुन् । हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमा ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । सिनेमाको कथासँग रिलिज डेट म्याच गराउँदै यो सिनेमा कुशे औँसीमा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार तथा गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमाको कथा र पटकथा पनि लम्साल आफैँले लेखेका हुन् ।सिनेमा ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर सिनेमा ‘कर्मा’ निर्माण गरेका थिए । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्ने निर्माण टिमको विश्वास छ । नेपाली समाजमा परिवारका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बाः एक योद्धा’को मुख्य कथा हो । शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमाको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बाः एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

सम्बन्धित समाचारसबै