सिनेसुत्र, बिराटनगर- कृषा चौलागाईँको तेस्रो निर्देशकीय सिनेमा ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निर्माण टिमले छायांकन सुरु गर्ने मिति तय गर्दै बिहीबार कलाकारहरुको फेस टेस्ट गरेको छ। बालाजु ल्याबमा कलाकारहरुको पात्रअनुसार लुक्स परीक्षण गरिएको हो।
एक्सन निर्देशकको छवि बनाएकी कृषाले सिनेमाको अधिकांश पूर्वतयारी पूरा भएकाले अब छायांकनमा जान लागेको बताइन्। उनका अनुसार सिनेमाको छायांकन असार १५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा हुनेछ। सोही तयारीअनुसार कलाकारहरुको लुक्स हेरिएको उनले जानकारी दिइन्।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने जारी रहेको निर्माण टिमले जनाएको छ।
सिनेमाको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन्। छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हालेका छन् भने मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टिममा रहनेछन्। केही साताअघि सिनेमाको पहिलो गीत रेकर्ड गरिएको थियो। उक्त गीतमा ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन् भने गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ।
सिनेमाको प्रोडक्सन म्यानेजरमा रविन बखेल रहनेछन् भने द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन्। सत्यम राणा र समीर मियाँले भीएफएक्सको काम सम्हाल्नेछन्। सरोज बुढाथोकी मेकअप आर्टिस्टका रूपमा रहनेछन् भने कुलदीप शर्मा मुख्य सहायक निर्देशक रहनेछन्।
यस्तै, नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन्। रेनिस फागो कलरिस्ट रहने सिनेमाको पब्लिसिटी तथा पोस्टर डिजाइनको जिम्मेवारी राकेश दाहालले पाएका छन्। कालाचरणले पृष्ठभूमि संगीत (बीजीएम) तयार गर्नेछन् भने गीताको गुरायाले मिक्सिङको काम सम्हाल्नेछिन्।