सिनेसुत्र, बिराटनगर- चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले आफ्नो चौथो सिजनका लागि देशव्यापी अडिसन सफलतापूर्वक सम्पन्न गरेको छ। नेपालगञ्जबाट सुरु भएको अडिसन यात्रा बुटवल, पोखरा, चितवन, इटहरी र बिर्तामोड हुँदै देशका ६ प्रमुख सहरमा आयोजना गरिएको थियो।
सिने सुत्रले प्राप्त गरेको जानकारीअनुसार यसपटकको अडिसनबाट कोशी प्रदेशबाट सबैभन्दा धेरै प्रतियोगी छनोट भएका छन्। देशभरबाट आएका हजारौं आवेदकमध्ये उत्कृष्ट प्रतिभालाई आगामी चरणका लागि चयन गरिएको निर्माण टिमले जनाएको छ। मोफसल अडिसन सकिएपछि अब काठमाडौंमा प्रि–जजिङ अडिसन आयोजना गरिनेछ। निर्देशक विशाल भण्डारीका अनुसार बाहिरका अडिसनमा सहभागी हुन नपाएका इच्छुक प्रतिस्पर्धीले काठमाडौं अडिसनमार्फत पनि अवसर पाउनेछन्।
देशका ६ सहरबाट छनोट भएका प्रतियोगीले अब मुख्य निर्णायकहरूको उपस्थितिमा काठमाडौंमा हुने फिजिकल अडिसनमा प्रतिस्पर्धा गर्नेछन्। चौथो सिजनका लागि पुराना र नयाँ निर्णायकहरूको मिश्रण गर्ने तयारी रहेको बताइएको छ।निर्माण टिमले काठमाडौं अडिसन सम्पन्न भएपछि मात्र निर्णायकहरूको नाम सार्वजनिक गर्ने जनाएको छ। आगामी जुलाईदेखि प्रसारणको तयारीमा रहेको ‘कमेडी च्याम्पियन ४’ यसपटक हिमालय टेलिभिजन मार्फत दर्शकमाझ आउनेछ।
