दयाहाङ र मिरुनाको नयाँ सिनेमा ‘रातो घेरा – द रेड सर्कल’ शुभमुहूर्तसँगै फ्लोरमा

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको सिनेमा “रातो घेरा – द रेड सर्कल” को आज बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। असार २५ गतेदेखि छायांकनमा जाने सिनेमाको बिहीबार विधिवत रूपमा पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरसहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने यस सिनेमाको निर्माण विश्राम फिल्म्स प्रा.लि.को ब्यानरमा हुन लागेको हो। अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ भने सिनेमाको प्रदर्शन मिति समेत तय भइसकेको छ। सिनेमा आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउनेछ।निर्देशक अनिल बुढा मगरका अनुसार सिनेमाले सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ। सत्य घटनामा आधारित भएर निर्माण भइरहेको यस सिनेमालाई अझ भव्य, कथात्मक रूपमा सशक्त तथा प्राविधिक रूपमा उच्चस्तरीय बनाउन विशेष ध्यान दिइएको निर्माता जीवन गुरुङले बताएका छन्। साथै अनुभवी कलाकार तथा दक्ष प्राविधिक टोलीको सहभागिताले सिनेमा अझ प्रभावशाली बन्ने विश्वास व्यक्त गरिएको छ। सिनेमाका निर्माता जीवन गुरुङसँगै कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन्। सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन्। सिनेमाको संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन्।

वितरण अधिकार काठमाडौंमा काफीया फिल्म्सका गोविन्द शाही र काठमाडौं बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन्। सिनेमाका लेखक राजु स्याङ्तान हुन् भने छायांकन शिशिर बिसंखेले गर्नेछन्। निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरुङले सम्हाल्नेछन्। दर्शकहरूले यस सिनेमामा दयाहाङ राई र मिरुना मगरको जोडीबाट फेरि पनि उत्कृष्ट अभिनय र नयाँ किसिमको सिनेम्याटिक अनुभवको अपेक्षा गर्न सक्ने निर्माण पक्षले जनाएको छ।यस सिनेमामा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्गबहादुर पुन (खबपु), सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बलबहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाई, रामबाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ तथा डिबी गुरुङलगायत कलाकारहरूको अभिनय रहनेछ। कार्यक्रममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले सत्य घटनामा आधारित एउटा सुन्दर र राम्रो सिनेमामा काम गर्न लागेकोमा आफूहरू उत्साहित रहेको बताएका छन्।

 

सम्बन्धित समाचारसबै