‘कमेडी दरबार’ टिमको ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक : गौरी, रेखा र तृप्तिको दमदार केमिस्ट्री

0 Shares

सिनेसुत्र, बिराटनगर- माया इन्टरटेन्मेन्टको प्रस्तुतीमा ‘कमेडी दरबार’ टिमले निर्माण गरेको सिनेमा ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक गरिएको छ। झलकमा मुख्य कलाकारहरू आफ्नो गाउँका लागि केही गर्ने उद्देश्यका साथ योजना बनाइरहेको देखिन्छ। अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा तथा अभिनेता महेश त्रिपाठी एउटा डाँडामा बसेर गाउँको विकासबारे छलफल गरिरहेका छन्।

उनीहरू ‘कुलेबारी’ नामको गाउँमा छन् र उक्त गाउँका लागि केही गर्ने योजनामा जुटेका छन्। सार्वजनिक करिब तीन मिनेट लामो झलकमा अभिनेत्री रेखाले, “गाउँको लागि यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होला है?” भन्ने संवाद बोलेकी छन्। त्यसपछि अभिनेत्री गौरीले, “एउटा सालिक त बनाउलान् नि हरामीहरूले।” भन्ने संवाद सुनिन्छ। जवाफमा अभिनेत्री तृप्तिले, “सालिक त बनाउँदैन होला, अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक?” भन्दै हास्यपूर्ण प्रतिक्रिया दिएकी छन्।आगामी भदौ १९ गते प्रदर्शनमा आउने सिनेमा ‘ककाकिकी’को निर्माण टिमले पहिलो झलक सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचारप्रसार अभियान सुरु गरेको जनाएको छ। सिनेमाका निर्देशकद्वय बिक्की अगरवाल र श्रद्धा प्रसाईंले आफूहरूले मेहनतका साथ निर्माण गरेको सिनेमा अब दर्शकको जिम्मामा छाड्न लागेको र प्राप्त हुने प्रतिक्रियालाई सहज रूपमा स्वीकार गर्ने बताएका छन्। निर्देशक बिक्की भन्छन्, “हामी अहिल्यै हामीले यस्तो–उस्तो सिनेमा बनाएका छौं भन्दैनौं, राम्रो बनाउने प्रयास गरेका छौं, बाँकी दर्शकको हातमा छ।” निर्देशक श्रद्धाले सम्पूर्ण कलाकार तथा प्राविधिक टिमको साथ र सहयोगका कारण सिनेमा उत्कृष्ट बनेकोमा आफू विश्वस्त रहेको बताइन्।

पहिलो झलक सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के तथा अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतले सिनेमामा काम गर्दाका अनुभव साटेका थिए। सिनेमामा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ।सिनेमाको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन्। सिनेमाका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। कन्सेप्ट सुमन अग्रवालको रहेको सिनेमामा स्क्रिप्ट डक्टरको भूमिका विश्वास तिमल्सिना (बिटी कान्छा)ले निभाएका छन्। सुदीप बरालको डीओपी रहेको सिनेमामा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी तथा सहायक निर्देशक विशाल राई हुन्। मेकअपमा अनिस तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरुण रेग्मी रहेका छन्। सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै