झरना-सुहानादेखि दिव्यदेवसम्म एकै फ्रेममा : ‘बाः एक योद्धा’को दुई नयाँ पोस्टरमा खुसी र तनाव

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौ १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार दुईवटा पोस्टर सार्वजनिक गर्दै सिनेमाका मुख्य कलाकारलाई प्रस्तुत गरेको हो। सार्वजनिक पोस्टरहरूले ‘बाः एक योद्धा’ पूर्ण पारिवारिक कथामा आधारित सिनेमा रहेको संकेत गरेका छन्। पहिलो पोस्टरमा दिव्यदेव पन्त र झरना थापा बसेका छन् भने सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा उनीहरूका पछाडि उभिएका छन्। घरको आँगनमा सपरिवार तस्बिर खिचाइरहेको दृश्यमा सबै पात्र हँसिलो मुद्रामा देखिएका छन्।

रातो माटोले लिपपोत गरिएको घर, दसैँको झल्को दिने परिवेश र परिवारसँगै रहेको कुकुरले नेपाली मध्यमवर्गीय परिवारको आत्मीयता र इमानदार जीवनशैलीलाई चित्रण गरेको छ। पात्रहरूको पहिरन र प्रस्तुतिले पनि पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको संकेत गर्छ। दोस्रो पोस्टरमा भने कथा फरक भावमा प्रस्तुत गरिएको छ। झरना थापा र सुहाना थापाको अनुहारमा कौतुहलता र तनाव देखिन्छ भने दिव्यदेव पन्त र अनिल बुढाथोकी रिसाएको भावमा प्रस्तुत भएका छन्। अर्का कलाकार माओत्से गुरुङको कुटिल मुस्कानले उनी कथामा रहस्यमय वा नकारात्मक पात्र हुन सक्ने संकेत दिएको छ।दुवै पोस्टरले एउटा सुखी परिवारमा अचानक आएको अनपेक्षित घटनापछि सुरु हुने संघर्ष र पारिवारिक उतारचढावको कथालाई संकेत गरेका छन्। यसले सिनेमाको कथा परिवार, सम्बन्ध, त्याग र चुनौतीको वरिपरि घुम्ने अनुमान गर्न सकिन्छ। निर्देशक हरि लम्सालका अनुसार नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौती नै ‘बाः एक योद्धा’को मुख्य विषयवस्तु हो।

सिनेमामा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्। हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमा ‘बाः एक योद्धा’ भदौ १९ गते, कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाको कथा र पटकथा पनि निर्देशक लम्सालले नै तयार पारेका हुन्। सिनेमा ‘बाः एक योद्धा’ का निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जकसमेत रहेका उनले यसअघि अभिनेता विपीन कार्की अभिनीत सिनेमा ‘कर्मा’ निर्माण गरेका थिए। शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमाको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् भने आशिष एच तामाङ र प्रदीप धामीको कुबेर सिने डिस्ट्रिब्युसनले यसको वितरण गर्नेछ।

सम्बन्धित समाचारसबै