सिनेसुत्र, बिराटनगर- आगामी हरितालिका तीजको अवसर पारेर सिनेमा ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित सिनेमाको काठमाडौंमा आयोजित विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।
सार्वजनिक पोस्टरले गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। पोस्टरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) गम्भीर भावमा सामान्य चोटसहित देखिएका छन् भने उनको नाडीमा हतकडी झुन्डिएको छ। रातो विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर पारसको छातीमा टाउको अडेसाएकी छन्। हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको भावनात्मक आलिङ्गनले सिनेमाभित्र गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वबीच विकसित भएको सशक्त प्रेमकथाको संकेत गर्छ। श्रीधर पौडेलले खिचेको तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टरको रूप दिएका हुन्।
पोस्टर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार पारस र दिव्या पोस्टरकै लुक्समा मिडियासामु प्रस्तुत भएका थिए। दिव्या बेहुलीको पहिरनमा थिइन् भने पारसको हातमा हतकडी थियो। मञ्चमै उनीहरूले प्रस्तुत गरेको प्रेमिल दृश्यले सञ्चारकर्मी र अतिथिको ध्यान खिचेको थियो। सिनेमामा यी दुईसँगै सुशान्त कार्कीको पनि प्रमुख भूमिका रहेको छ।
सिनेमा ‘होस्टेल ३’बाट ठूलो पर्दामा डेब्यु गरेका पारस यसपटक परिपक्व र गम्भीर प्रेमकथामा दिव्याको जोडीका रूपमा देखिँदैछन्। युवापुस्तामाझ लोकप्रिय कुलब्वाय र दिव्याको नयाँ अनस्क्रिन केमेस्ट्रीप्रति दर्शकमाझ उत्सुकता बढेको छ। निर्माण पक्षले तीजको उल्लास र ‘बेहुली’को भावनात्मक कथाको संयोजनले दर्शकलाई फरक सिनेम्याटिक अनुभव दिने विश्वास व्यक्त गरेको छ।
सिनेमा ‘होस्टेल ३’मा सहकार्य गरेका सशान कँडेल र माधव शर्माको जोडीले नै सिनेमा ‘बेहुली’ लाई आकार दिएका हुन्। माधव शर्माको कथामा सशान कँडेलले निर्देशन गरेका छन्। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेका छन् भने योगेन्द्र कार्की र मार्लोभ ढुङ्गानाले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका छन्।
सिनेमामा पारस, दिव्या र सुशान्तसँगै पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय रहेको छ। प्राविधिक पक्षमा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ।
चर्चित सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको सिनेमाका निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ तथा लाइन प्रोड्युसरमा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री रहेका छन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन रहेको छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।