‘पार्वती’को कथा अपेक्षाभन्दा उत्कृष्ट लाग्यो : डबिङपछि दीपाश्री निरौला

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली सिनेमा ‘पार्वती’को हाल धमाधम डबिङ कार्य भइरहेको छ। यसै क्रममा सिनेमाकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङका क्रममा उनले सिनेमाको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन्। सिनेमाको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको अनुभवसमेत उनले साटेकी छन्।

अभिनेत्री दीपाश्रीलाई डबिङ गराइरहेकी सिनेमाकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी पनि उत्तिकै उत्साहित देखिएकी छन्। आफूले कल्पना गरेभन्दा राम्रो सिनेमा बनिरहेको भन्दै उनले दीपाश्रीसहित सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेकी छन्।‘नीता फिल्मस्’को ब्यानरमा निर्माण भएको यस सिनेमामा निर्देशक नीता स्वयंका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायतको मुख्य अभिनय रहेको छ।

हरिहर अधिकारी निर्माता रहेको यस सिनेमाको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा छन्। सुदिप बरालको छायांकन, साहिल खानको सम्पादन र रोयल भिमसेनको पोस्टर डिजाइन रहेको यस सिनेमाको निर्माण टोली निकै बलियो देखिन्छ। यसअघि यही ब्यानरबाट बहुप्रतीक्षित सिनेमा ‘ह्रस्वदीर्घ’ निर्माण भएको थियो।

 

सम्बन्धित समाचारसबै