युट्युब ट्रेन्डिङमा ‘गौँथली’को ट्रेलर : रुवायो दर्शक, दिए सुपरहिट हुने शुभकामना

0 Shares

सिनेसुत्र, बिराटनगर- साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ। टिजर र ट्रेलरले हाइप बढाउँदै जाँदा सिनेमा दर्शकमाझ अझ प्रतिक्षित बन्दै गएको हो। चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले सिनेमा हेर्न दर्शक उत्साहित रहेको देखाउँछ। अहिले सिनेमाको ट्रेलर नेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा रहेको छ। यस सिनेमाको बजारमा बढ्दो हाइप र ट्रेलरमा देखिएको भावनात्मक गहिराइले ‘गौँथली’ साउन १ गतेदेखि बक्स अफिसमा राम्रो व्यापार गर्ने संकेत देखाएको छ।

ट्रेलर हेरेर यस सिनेमालाई दर्शकले व्यापारिक सफलताको शुभकामना दिइरहेका छन्। युट्युबमा ट्रेलर हेरेर अकेन्द्र ठकुरी लेख्छन्, “यो सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को रेकर्ड तोड्नुपर्छ।” ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली सिनेमा उद्योगमा हालसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने सिनेमा हो। “नेपाली सिनेमा भनेको त यस्तो पो हुनुपर्छ, मनै छुने। ट्रेलरमै अग्रिम शुभकामना, सिनेमा सुपरहिट होस्,” ट्रेलर हेरेपछि अकेन्द्र नामक फेसबुक प्रोफाइलबाट युट्युबमा कमेन्ट गरिएको छ।यस सिनेमामा अटिजम भएको युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनको अपोजिटमा रहेकी सिम्रन खड्काको अभिनयको धेरै तारिफ भइरहेको छ। यससँगै उनीहरूले प्रचारका क्रममा गरेको मेहनतलाई पनि दर्शकले प्रशंसा गरिरहेका छन्। अञ्जु थापालाई ट्रेलरले नै रुवाएको छ। उनी लेख्छिन्, ट्रेलरले नै रुवायो, पूरा सिनेमाले त के गर्ला ? ट्रेलरमा विशेषगरी अरुणको अवोधपन र सिम्रनले बिना कारण भोगिरहेको दुःखले दर्शकको मन जितिरहेको छ।

छवि ओलीलाई पनि यसको संवेदनाले छोएको छ। उनी लेख्छन्, सिनेमा पुरै त हेर्न सकिन्न होला, हलमै आँसुले बगाएर। सशक्त अभिनय, उस्तै संवाद र भावले हरपल हृदय रसाएर। सानो अंश हेर्दै त आङ जिरिङ भयो हर शब्द संवादले। कलाकारको अवोधपन र भावनात्मक पक्षले दर्शकको ध्यान तानिरहेको छ। यही नै सिनेमा ‘गौँथली’ को सबल पक्ष बनेको देखिन्छ।

अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिएको सोच तथा त्यसले भत्काइरहेको सुन्दर सपनाको प्रस्तुतिलाई दर्शकले मन पराइरहेका छन्। ‘गौँथली’ लाई डा. कपिल रिजालले निर्देशन गरेका हुन्। सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्। डा. भोला रिजालको कथा रहेको सिनेमाको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस सिनेमाकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता हुन्। शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको सिनेमामा एलिस कार्कीको पाश्र्व संगीत रहेको छ। सिनेमालाई हरि हुमागाईंले छायांकन गरेका छन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक, आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाह ध्वनि मिश्रक, राजेन्द्र मोक्तान रङ संयोजक तथा रामजी लामिछाने र मौसम हिमाली कोरियोग्राफर रहेका छन्।

यस सिनेमालाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि पनि सिनेमा निर्माण गरेका थिए। उक्त सिनेमालाई नेपालको पहिलो ‘गीति सिनेमा’ (म्युजिकल सिनेमा) मानिन्छ। ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो। अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ सिनेमा ‘गौँथली’ निर्देशन गरेका हुन्।

सम्बन्धित समाचारसबै