सिनेसुत्र, बिराटनगर- आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली सिनेमा ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। सिनेमा प्रदर्शन हुनु अगावै क्रोएसियाका लागि ‘नेप इन्टरटेन्मेन्ट’ (NEP Entertainment) र जाग्रेबस्थित ‘बुद्ध मार्ट’ ले यसको प्रदर्शन अधिकार खरिद गरेका हुन्।
सिनेमाका निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका वितरकबीच प्रदर्शन अधिकारका लागि औपचारिक कागजी सम्झौता भइसकेको छ। पछिल्लो समय क्रोएसियामा नेपालीहरूको चाप उल्लेख्य रूपमा बढ्दै गएकाले त्यहाँका वितरकहरूले यो सिनेमा खरिद गरेका हुन्। यसअघि नै सिनेमाको प्रदर्शन अधिकार अमेरिका, क्यानडा र जापानलगायतका देशमा बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।
चन्द्र पन्तकै कथा तथा पटकथा रहेको यो सिनेमा आगामी असोज ३० गते बडादसैँको फूलपातीका दिनदेखि नेपालसहित विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ। “दशैँको जमरा र आमाको पर्खाइको कथा” लाई मुख्य विषयवस्तु बनाइएको सिनेमाको पोस्टरमा “आउँछु भन्ने एउटा भुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन्” भन्ने मार्मिक हरफ समेटिएको छ। यसले वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा बसिरहने आमाको भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गर्छ।
आर्य पन्तको प्रस्तुति तथा आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस सिनेमामा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत (गजनीका भिलेन), मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, दिलिप अखेडा र नरेन खड्कालगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
नेपालभर सिनेमाको वितरण ‘आर आर फिल्मस्’ ले गर्ने जिम्मेवारी लिएको छ भने यसको डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले खरिद गरिसकेको छ। सिनेमाका प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्। प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरिरहेको यस सिनेमाप्रति दर्शक तथा सिने वृत्तमा उत्साह बढ्दो देखिएको छ।