सिनेसुत्र, बिराटनगर- होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको पूर्णतया हास्यव्यङ्ग्यात्मक नेपाली कथानक सिनेमा ‘तिरिमिरी झ्याइँ’को एक कार्यक्रमबीच शुभमुहूर्त गरिएको छ। वैदिक विधिअनुसार पूजाआजा गर्दै निर्माण टोली, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सिनेमाको औपचारिक शुभारम्भ गरिएको हो। मुहूर्त शटसँगै सिनेमाको निर्माण यात्रा विधिवत् रूपमा अगाडि बढेको छ। सिनेमाको छायाङ्कन यही असार २९ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा निर्माण हुन लागेको यस सिनेमालाई समीरले निर्देशन गर्दैछन्। मुहूर्त कार्यक्रममा निर्देशक समीरले यो सिनेमाले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने र विशुद्ध हास्यव्यङ्ग्यको भरपुर मनोरञ्जन पस्कने विश्वास व्यक्त गरे। त्यस्तै, सिनेमाका निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले उत्कृष्ट पारिवारिक कमेडी सिनेमा निर्माण गर्ने उद्देश्यका साथ आफूहरू अघि बढेको बताउँदै सम्पूर्ण टिमको मेहनतले दर्शकको मन जित्नेमा विश्वस्त रहेको धारणा राखे। कथाकारसमेत रहेका कार्यकारी निर्माता आभास अधिकारीले आफ्नै समाजका रमाइला र ठट्यौली घटनाक्रमलाई पर्दामा उतार्ने प्रयास गरिएको बताए।
यस सिनेमाबाट ‘दले दाइ’ नामबाट चर्चित कमेडियन सुमन कोइरालाले अभिनयमा डेब्यु गर्दैछन्। उनका साथमा दिग्गज अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा र घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ। सह-निर्माताका रूपमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन्।
सिनेमामा विशाल कक्षपतिको छायाङ्कन, अभिषेक कार्कीको सङ्गीत रहनेछ। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका हुन्। करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर तथा रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा आबद्ध छन्।
त्यसैगरी सिनेमामा प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टाइल तथा रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ। सञ्चारकर्मीहरूसँगको अन्तरक्रियासहित सम्पन्न शुभमुहूर्त कार्यक्रममा निर्माण पक्ष र कलाकारहरूले सिनेमाको सफल यात्राप्रति उच्च उत्साह र आत्मविश्वास व्यक्त गरेका छन्।