काजलको आरोपपछि निर्देशक दिपक प्रसाद आचार्यको स्पष्टीकरण : “गल्ती पुष्टि भए तत्काल कारबाही गर्छौं”
0
Shares
सिनेसुत्र, बिराटनगर- कलाकार काजल कर्णले नेपाली सिनेमा ‘चिरञ्जिवी भवः’ को छायांकनका क्रममा आफू मधेशी भएकै कारण विभेद र अपमान भोग्नुपरेको आरोप लगाएपछि सिनेमाका निर्देशक दिपक प्रसाद आचार्य (काकु) ले त्यसप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन्।
निर्देशक आचार्यले सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै काजल कर्णले लगाएका जातीय तथा क्षेत्रीय विभेदका आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्। उनले आरोप सार्वजनिक भएपछि छायांकनमा संलग्न सम्पूर्ण प्राविधिक तथा निर्माण टिमसँग छलफल गरिएको जानकारी दिँदै, यदि कसैले कलाकारमाथि अपमानजनक व्यवहार गरेको पुष्टि भएमा जोसुकैलाई पनि तत्काल कारबाही गरिने बताएका छन्।
निर्देशकका अनुसार काजल कर्णले आफूलाई सेटमा भएको भनिएको घटनाबारे प्रत्यक्ष रूपमा कुनै जानकारी गराएकी थिइनन्। उनले कलाकारको गुनासो समयमै आएको भए आवश्यक छानबिन र समाधान गर्न सकिने अवस्था रहेको उल्लेख गरेका छन्।
छायांकनका क्रममा भएको अर्को घटनाबारे पनि निर्देशक आचार्यले आफ्नो धारणा राखेका छन्। उनका अनुसार बिहान ७:३० बजेको कल टाइममा करिब ७० सदस्यीय छायांकन टोली कलाकारको प्रतीक्षामा रहे पनि बिहान ९ बजेसम्म नआएपछि सहायक निर्देशकमार्फत नआउने जानकारी प्राप्त भएको थियो। त्यसपछि छायांकन रोक्न नसकिने भएकाले काम अगाडि बढाइएको उनले बताएका छन्।
पारिश्रमिकको विषयमा पनि निर्देशकले स्पष्ट पारेका छन्। उनका अनुसार काजल कर्णको तेस्रो किस्ताको पारिश्रमिक मात्रै बाँकी रहेको र डबिङ सम्पन्न भएपछि उक्त रकम भुक्तानी गर्ने व्यवस्था निर्माण पक्षले गरेको जानकारी आफूले पाएको बताएका छन्।निर्देशक दिपक प्रसाद आचार्य (काकु) ले काजल कर्णलाई कुनै समुदाय वा जातीय पहिचानका आधारमा नभई पात्रको आवश्यकता अनुसार छनोट गरिएको दाबी गरेका छन्। उनले आफूलाई काजल कर्ण मधेशी समुदायकी कलाकार भएको कुरा सामाजिक सञ्जालमा आएको स्टाटस पढेपछि मात्र थाहा भएको उल्लेख गर्दै, “हाम्रो लागि कुनै जातीय वा क्षेत्रीय कलाकार हुँदैनन्। हाम्रो लागि संसारमा एउटै समुदाय छ, त्यो हो मानव समुदाय,” भनेका छन्।
सिनेमामा कलाकारले विभिन्न प्रकारका भूमिका निर्वाह गर्नु अभिनयको स्वाभाविक पक्ष भएको भन्दै निर्देशक आचार्यले डोको बोक्ने, गाईको सेवा गर्ने वा अन्य श्रमसँग जोडिएका दृश्यलाई कुनै पनि पेशाको अपमानका रूपमा नहेर्न आग्रह गरेका छन्। उनले हरेक श्रम र पेशाप्रति आफ्नो सम्मान रहेको बताएका छन्।
निर्माण टिमका अनुसार काजल कर्णले सिनेमामा महत्त्वपूर्ण र प्रभावशाली भूमिका निर्वाह गरेकी छन्। उनलाई गोबर सोहोर्ने वा सामान्य काममा मात्रै प्रयोग गरिएको भन्ने आरोप सत्य नभएको दाबी गर्दै, उनले अभिनय गरेका सम्पूर्ण दृश्यका भिडियो फुटेज सुरक्षित रहेको पनि उल्लेख गरेका छन्।
निर्देशक आचार्यले घटनामा केही विषय गलत बुझाइ (मिसअन्डरस्ट्यान्डिङ) भएको हुन सक्ने उल्लेख गर्दै आवश्यक परे काजल कर्णसँग प्रत्यक्ष छलफल गर्न आफूहरू तयार रहेको बताएका छन्।
अन्त्यमा निर्देशक दिपक प्रसाद आचार्य (काकु) ले नेपाली सिनेमा उद्योगका लागि गुणस्तरीय सिर्जना निर्माणमा आफूहरू केन्द्रित रहेको उल्लेख गर्दै सबैलाई सकारात्मक सहयोग गर्न आग्रह गरेका छन्। साथै कलाकार काजल कर्णको कलाकारिता र आगामी यात्राको सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।