सिनेसुत्र, बिराटनगर- काठमाडौंको व्यस्त सडकमा हजारौँको भीडबीच डोकोमा घाँस बोकेर हिँडिरहेकी एक सुन्दरी युवतीलाई देखेर धेरैले सेल्फी खिच्न थाले। ती युवती अरू कोही नभई अभिनेत्री सिम्रन खड्का थिइन्। साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘गौँथली’ को शीर्ष भूमिकामा रहेकी सिम्रनले आफ्नो सिनेमाको प्रचारका लागि शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका विभिन्न सडकमा पुगेर दर्शकसँग प्रत्यक्ष भेट गरिन्।
सुरुदेखि नै फरक शैलीमा प्रचार गर्दै आएको ‘गौँथली’ निर्माण टिमले यसपटक सिम्रनलाई सिनेमाकै पात्रको वेशभूषामा सडकमा उतारेर दर्शकमाझ पुर्याएको हो। काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन क्षेत्रमा पुगेकी सिम्रनले दुई हजारभन्दा बढी दर्शकसँग भेट गर्दै ‘गौँथली’ हेर्न आग्रह गरिन्। उनले सिनेमाको कथा र जानकारी समेटिएको ब्रोसर वितरण गर्दै दर्शकलाई हलसम्म आउन निम्तो पनि दिइन्।
“हामीले नयाँ तरिकाबाट दर्शकमाझ पुगेर सिनेमा हेर्न आग्रह गर्यौं। धेरैले हाम्रो अन्तर्वार्ता र ट्रेलर हेरेर सिनेमा हेर्ने निर्णय गरिसकेको बताउनुभयो,” सिम्रनले भनिन्। “केहीले त हामी यो सिनेमा हेर्न हलमा गएका थियौँ, तर लागेकै रहेनछ भन्नुभयो।”
दर्शकसँग प्रत्यक्ष भेटेर सिनेमा हेर्न निम्तो दिन पाउँदा आफूलाई निकै रमाइलो अनुभव भएको र दर्शकले ‘हामी सिनेमा हेर्न जान्छौँ’ भनेपछि थप आत्मविश्वास बढेको उनले बताइन्। निर्देशक डा. कपिल रिजाल को निर्देशनमा बनेको सिनेमा ‘गौँथली’ यतिबेला राम्रो चर्चामा छ। साउन १ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस सिनेमाको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस सिनेमा मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।
सिनेमा की कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा रहेका छन्। डा. भोला रिजालको कथामा बनेको यस सिनेमा को पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस सिनेमा मा हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ।
