सिनेसुत्र, बिराटनगर- यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ। प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै सिनेमाको शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन्।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि शो सार्वजनिक गरिसकेको छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाजलगायतले पनि सिनेमाका शो खुला गरेका छन्। देशभरका अधिकांश हलहरूले सिनेमा ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्। सिनेमाका वितरक करण श्रेष्ठ ‘क्रेजी’का अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ। उनले भोलिसम्ममा देशभरका हलहरूबाट ‘गौँथली’ले २०० भन्दा बढी शो पाउने दाबी गरेका छन्।
‘शो खुल्ने क्रममै छ, अहिले नै यति शो भन्न सकिन्न,’ वितरक श्रेष्ठ भन्छन्, ‘तर भोलिसम्ममा देशभरबाट २०० भन्दा बढी शो आउँछ।’ प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै उच्च हाइप बनाएको सिनेमाले राम्रो व्यापार गर्नेमा निर्माण टोली विश्वस्त छ। प्रिमियरमा सिनेमा हेरेकाहरूले यसको विषयवस्तु, अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेपछि निर्माण टोली त्यसको सकारात्मक प्रभाव हलसम्म पुग्नेमा ढुक्क देखिएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको सिनेमाकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन्।
डा. भोला रिजालको कथामा आधारित सिनेमाको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमामा हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। सिनेमा ‘गौँथली’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।