सिनेसुत्र, बिराटनगर- यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडाभुल्ने मुटु’ रिलिज भएको छ। रिलिज गरिएको गीतमा आपत्ति परेको समयमा सन्तानले बुवाप्रति व्यक्त गरेका भावनात्मक शब्दलाई मुख्य पात्रमार्फत प्रस्तुत गरिएको छ।
यस गीतको शब्द रचना सिनेमाका अभिनेता प्रदीप दीपले लेखेका हुन् भने संगीत अभि सुनारको छ। यस्तो मार्मिक गीतलाई चर्चित गायिका अस्मिता अधिकारीले स्वर दिएकी छन्। गीतको भावअनुसार नै छायांकन गरिएको भिडियोमा सिनेमाका कलाकारहरूले उदाहरणीय अभिनय गरेका छन्।
पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो सिनेमा पछिल्लो समय चर्चामा छ। प्रचार–प्रसारमा उत्तिकै तीव्रता पाइरहेको यस सिनेमालाई हिट निर्देशक ओम प्रतीकले लेखन तथा निर्देशन गरेका हुन्।
सिनेमामा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ। साथै, स्वयम् निर्देशक ओम प्रतीक पनि मुख्य भूमिकामा देखिएका छन्।
यस सिनेमाको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला, पूजा शर्मा र मिथिला शर्मासम्मले अभिनय गरेका छन्, जुन दर्शकमाझ निकै लोकप्रिय बनेको छ। यो गीतले पनि दर्शकलाई आकर्षित गर्न सक्ने निर्माण पक्षको विश्वास छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको यस सिनेमाको कथा क्रान्तिकारी शैलीको छ, जहाँ देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश दिइएको छ।
यस सिनेमामा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जस्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र चर्चित गायिका शान्तिश्री परियारको दमदार स्वर रहेको छ।
सिनेमाका कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन रहेको यस सिनेमालाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।
नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। देशभित्र र बाहिर एकसाथ तातिरहेको चर्चाले ‘हली’ ले हलमा राम्रो व्यापार गर्ने स्पष्ट संकेत देखाएको छ।