‘मास्टर्नी’ विवादपछि प्रियंका कार्कीकोले मागिन माफी : प्रचारात्मक गीत युट्युबबाट हटाइयो

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘मास्टर्नी’की निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादबारे औपचारिक धारणा सार्वजनिक गर्दै सम्पूर्ण शिक्षक-शिक्षिका, नेपाल शिक्षक महासंघ तथा दर्शकसँग हृदयदेखि नै क्षमायाचना गरेकी छन्।

प्रियंकाले सार्वजनिक गरेको विज्ञप्तिमा गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत सिनेमाभित्र समावेश गरिएको आधिकारिक गीत नभई केवल प्रचारप्रसारका लागि आपसी समन्वयमा तयार गरिएको स्पष्ट पारेकी छन्। उक्त गीत सिनेमाको कथावस्तुमा कतै पनि प्रयोग नगरिएको उनको भनाइ छ।उनले गीतमा प्रयोग भएका केही शब्द र दृश्यका कारण सम्मानित शिक्षक–शिक्षिका पेसाको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई अत्यन्त गम्भीरतापूर्वक लिएको उल्लेख गरेकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजका सम्मानित व्यक्तित्वहरूको भावनामा ठेस पुर्‍याउने कुनै मनसाय नरहेको भए पनि अन्जानमै चोट पुगेकामा आफू र आफ्नो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै क्षमा मागेकी छन्।

पहिलोपटक सिनेमा निर्माणको यात्रा सुरु गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने उद्देश्य नरहेको उल्लेख गर्दै प्रियंकाले यस घटनालाई आफूका लागि गल्ती सच्याउने महत्वपूर्ण पाठका रूपमा लिएको बताएकी छन्। उनले सम्पूर्ण गुरु-गुरुआमा, नेपाल शिक्षक महासंघ तथा यस घटनाबाट आहत भएका सबैप्रति उच्च सम्मान व्यक्त गर्दै पुनः क्षमायाचना गरेकी छन्।

विवादलाई गम्भीरतापूर्वक मनन गर्दै प्रचारात्मक गीतलाई दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइसकिएको र आफ्ना सम्पूर्ण सामाजिक सञ्जालबाट पनि उक्त गीतसँग सम्बन्धित सामग्री हटाइएको जानकारी उनले दिएकी छन्।साथै, दर्शकबाट प्राप्त सुझाव, आलोचना र प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गरेको उल्लेख गर्दै आगामी दिनमा सिर्जना र विषयवस्तु छनोटमा अझ बढी संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।

प्रियंकाले आफ्नो कलाकारिता यात्रामा निरन्तर साथ, माया र सहयोग गर्ने दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै मार्गदर्शनको अपेक्षा गरेको बताएकी छन्। अन्त्यमा उनले पुनः सम्पूर्ण शिक्षक–शिक्षिका तथा दर्शकसँग हार्दिक क्षमायाचना व्यक्त गरेकी छन्।

सम्बन्धित समाचारसबै