‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक : असोज ९ मा प्रदर्शनमा तयारी

0 Shares

सिनेसुत्र, बिराटनगर- प्रतिक्षित सिनेमा ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर’ शुक्रबार राजधानीमा आयोजित प्रेसमिटमार्फत सार्वजनिक गरिएको छ। हाइटेक इन्टरटेन्मेन्ट युट्युबमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको सिनेमा आगामी असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ। गीत सार्वजनिक कार्यक्रममा गायक राजनराज र गायिका रचनाले ‘बदाम खजुर, दर्शन सलाम, ढोग दियाँ जदौ हजुर’ गाएर माहोल तताएका थिए। गीतकार, संगीतकार तथा गायकका रूपमा स्थापित राजनराजले पहिलोपटक यो गीतमा स्वर मात्रै दिएको प्रसंग उल्लेख गरे भने गायिका रचनाले राजनराजसँगको यो नै आफ्नो पहिलो पार्श्वगायन रहेको बताइन्।समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमा ‘जदौ’ मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारको अभिनय रहेको छ।

कार्यक्रममा अभिनेत्री नीति शाहले ‘जदौ’ अहिले प्रदर्शन भइरहेका सिनेमाभन्दा केही फरक र यथार्थपरक कथामा निर्माण भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। अभिनेता मुकुन भुसालले दर्शकले सिनेमामा आफूलाई एक वास्तविक पात्रका रूपमा पाउने बताए भने अभिनेता प्रभातपाल ठकुरीले यो सिनेमा आफ्नो लागि निकै महत्वपूर्ण रहेको उल्लेख गरे। यही सिनेमाबाट डेब्यु गरेकी अभिनेत्री राजश्री थापाले आफ्नो पहिलो प्रयास दर्शकले रुचाउने विश्वास व्यक्त गरिन्। निर्देशक शर्माले आफूहरूले अब्बल सिनेमा बनाउन कुनै कसर बाँकी नराखेको बताए भने लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बुले सिनेमाले भरपुर मनोरञ्जनका साथै समाजोपयोगी सन्देशसमेत प्रवाह गर्ने धारणा व्यक्त गरे।

श्याम तामाङ र नवराज उप्रेतीको छायाङ्कन रहेको सिनेमाका सहनिर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल रहेका छन्। सृजना शर्मा र मनिष शर्मा निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको सिनेमाको प्रोडक्सन हेड बिमला भण्डारी हुन्। सिनेमालाई एनजिएसएन ग्रुपले देशव्यापी रूपमा वितरण गर्नेछ।

सम्बन्धित समाचारसबै