‘रोल नं १’को ५१औँ दिन, १ करोड ७७ लाख कमाइ : सात हलमा अझै प्रदर्शन जारी

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘रोल नं १’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ। जेठ १५ गतेदेखि प्रदर्शनमा आएको सिनेमा आज ५१औँ दिनमा प्रवेश गरेको हो। यो सिनेमाले आधा दर्जनभन्दा बढी हलमा ५१औँ दिन मनाएको छ। निर्माणपक्षका अनुसार कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, बनेपास्थित शुभकामना सिनेमा, धनगढीस्थित एसटीएस इन्टरटेन्मेन्ट, इटहरीस्थित इलाइट सिनेमा, कावासोतीस्थित कावासोती सिनेमा, विराटचोकस्थित विराट सिनेमा र इलामस्थित फ्रेन्ड्स सिनेमा हलमा सिनेमाले ५१औँ दिन मनाउन सफल भएको छ।

यो सिनेमाले गत आइतबारसम्म १ करोड ७७ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। अहिले यो सिनेमा दर्शकले आधा मूल्यमै हेरिरहेका छन्। असारको पहिलो सातादेखि निर्माणपक्षले ‘रोल नं १’को टिकट ५० प्रतिशत छुटसहित बिक्री गरिरहेको छ। विद्यार्थी र अभिभावकले सिनेमाको टिकट मूल्य घटाउन गरेको आग्रहअनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताएका थिए।शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा सिनेमा ‘रोल नं १’ले उठाएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो सिनेमाको निर्देशन जोन योञ्जनले गरेका छन्। सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। सिनेमाका बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको सिनेमाको सहनिर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’को कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन्। शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन रहेको छ।

सम्बन्धित समाचारसबै